जानकी मेडिकल कलेज : कर्मचारीको आमरण अनसनमा मन्त्री यादवको समर्थन


टुडेखोज, जनकपुरधाम : तलब, भत्ता र सञ्चय कोष नदिएको भन्दै दुई कर्मचारीले थालेको आमरण अनसनमा प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले समर्थन जनाएका छन् ।

कर्मचारीद्वय जानकी शरण यादव र कुलदिप साहले आमरण अनसन सुरु गरेको आठौं दिन आईतवार मन्त्री यादव उनीहरुलाई भेटेर मागमा समर्थन जनाएका हुन् । जायज माग राखेर कर्मचारीद्वय यादव र साहले आमरण अनसन बसेको भन्दै मन्त्री यादवले कलेज प्रशासनले माग सम्बोधन गर्नुपर्ने बताएका छन् ।

विगत ६ वर्षदेखि बाँकी रहेको सञ्चय कोष, दसैं खर्च र नियमित तलब भत्ता नदिएको कर्मचारीहरुको दुःखेसो छ । कलेजका सयौं कर्मचारी लामो समयदेखि आन्दोलनरत छन् ।

पछिल्लो पटक जिल्ला प्रहरी कार्यालय धनुषामा माग सम्बोधन गर्ने भनेर कलेज व्यवस्थापन पक्षले सम्झौता पनि गरे । तर सम्झौता कार्यान्वयण नभएपछि कर्मचारी आमरण अनसन बसेर मृत्युसँग संघर्ष गरिरहेका छन् ।

मन्त्री यादवले समस्या समाधान गर्न कलेज प्रशासनसँग आग्रह समेत गरे । उनले जिल्ला प्रशासन प्रमुखलाई समेत मध्यस्थता गरी कर्मचारीको जायज माग पुरा गर्न पहल गर्ने आश्वासन दिएका छन् ।

प्रकाशित : २०७७ कार्तिक २३, आईतवार २०:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ