मुम्बईले जित्यो IPL को उपाधि, दिल्ली यसरी हारे


इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं संस्करणको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । मुम्बईले ५ विकेटले दिल्ली क्यापिटल्सलाई पराजित गर्दै पाँचौँ पटक उपाधि हात पारेको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा दिल्लीले टस जित्दै पहिलो ब्याटिङ गरेको थियो । दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो । मध्यम लक्ष्य पछ्याएको मुम्बईले १८ दशमलव ४ ओभरमै ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

मुम्बईको सहज जितका लागि कप्तान तथा ओपनर रोहित शर्माले ६८ रन जोडे । त्यस्तै इशान किसनले ३३ तथा क्वीन्टन डि ककले २० रन बनाए । यसैगरी सूर्यकुमार यादवले १९ रनको योगदान गरे ।

दिल्लीका एनरिच नोट्र्जेले २ तथा कगिसो रबाडाले १ विकेट लिए । त्यस्तै मार्कस स्टोनिसले १ विकेट हात पारे । यसअघि ब्याटिङ गरेको दिल्लीका लागि कप्तान श्रेयस अयरले ६५ रन बनाएका थिए ।

त्यस्तै रिसभ पन्तले ५६ रन जोडेका थिए भने शिखर धवनले १५ रन जोडेका थिए । यसबाहेक अन्य ब्याटसमेनले भने दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

दिल्लीलाई सस्तैमा रोक्न मुम्बईका ट्रेन्ट बोल्टले धारिलो बलिङ गर्दै ३ विकेट लिए । त्यस्तै नाथन कोल्टर निलले २ र जयन्त यादवले १ विकेट हात पारे । हारसँगै पहिलो पटक फाइनल पुगेको दिल्लीले भने उपविजेतामै चित्त बुझाए ।

मुम्बई लगातार आईपीएलको उपाधि जित्ने दोस्रो टिम बनेको छ । यसअघिको १२ औँ संस्करणको आईपीएल उपाधि मुम्बईले नै जितको थियो । उसले फाइनलमा चेन्नई सुपर किंसलाई १ रनले पराजित गर्दै रोमाञ्चक रूपमा उपाधि हात पारेको थियो ।

लगातार आईपीएलको उपाधि जित्ने पहिलो टिम भने चेन्नई हो । उसले सन् २०१० र २०११ को आईपीएल उपाधि जितेको थियो ।

प्रकाशित : २०७७ कार्तिक २६, बुधबार ०७:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ