प्रदेश २ : गोली हानी १८ वर्षीया युवती साहको हत्या


गौर : रौतहटमा गोली हानेर बुधवार राति एक विवाहित युवतीको हत्या गरिएको छ ।

माधवनारायण नगरपालिका ७ लौकाहाका राम अयोध्या साह तेलीकी १८ वर्षीया छोरी अमृताकुमारी साहको गोली हानी हत्या गरिएको छ । गोली कसले चलाएको कुरा खुल्न नसकेको प्रहरीले जनाएको छ । 

युवतीकी आमा घरबाट बाहिर शौचालय गएकी थिइन् । सोही मौका छोपी राति करिब ११ बजे अज्ञात समूहले घरमा पसी अमृताको कन्चटमा गोली हान्दा घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

गत २०७६ फागुनमा अमृताको बिहे सर्लाहीको मधुवनगोठका रुपेश साहसंग भएको थियो । बिहे भएको केही समयपछि युवतीको एकजना युवकसित प्रेम सम्बन्ध रहेको बाहिर आएको थियो ।

युवतीका श्रीमानलाई पनि अपरचित समूहले गत वैशाखमा चक्कु प्रहार गरेको थियो । युवतीको प्रेमीबाट युवतीको प्रेम सम्बन्धकै कारण चक्कु प्रहार भएको अनुमान युवक पक्षले गरेका थिए । चक्कु प्रहारबाट घाइते श्रीमान् लामो समय उपचारपछि बल्ल निको भएका थिए ।

गत असार महिनामा युवतीको सम्बन्ध विच्छेद भइसकेपछि युवती माइती लौकाहामा नै बस्दै आएकी थिइन् । घटना विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ कार्तिक २७, बिहीबार ०८:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ