सिरहामा नक्कली रुपैयाँ छाप्दै गर्दा मेसिनसहित ३ जना पक्राउ


लहान : सिरहा प्रहरीले गोलबजार नगरपालिका ६ बाट नक्कली रुपैयाँ र रुपैयाँ छाप्ने मेसिनसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका १२ का धिरज राय, सोही ठाउँका सञ्जयकुमार राय र कल्याणपुर नगरपालिका ७ का विमलेन्द्र नायक रहेका छन् ।

गोलबजार नपा ६ भोटनाथ चोकस्थित वीरेन्द्र महतोको घरबाट ६ लाख ८८ हजार नक्कली नोट, एक थान प्रिन्टर, एक थान ल्यापटपसहित तीनै जनालाई पक्राउ गरिएको सिरहाका एसपी उमाशंकर पञ्जियारले जानकारी दिए ।

उनका अनुसार गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तु जैसवालको नेतृत्वमा सशस्त्र प्रहरी समेतको टोली पुगेर महतोको घर घेराउ गरी खानतलासी गर्दा ती सामान बरामद भएको हो । प्रहरीले नक्कली नोट छाप्ने ठूलो गिरोह हुनसक्ने भन्दै थप अनुसन्धान अगाडि बढाएको छ ।

स्रोतका अनुसार नक्कली रुपैयाँ छाप्ने गिरोहका अन्य २ जना प्रहरी पुगेपछि फरार भएका छन् । प्रहरीले उनीहरूको पनि खोजतलास जारी राखेको छ ।

एसपी पञ्जियारले पक्राउ परेकाहरू कहिलेदेखि नक्कली नोट छाप्दै थिए भन्ने विषयमा केही खुल्न नसकेको र थप अनुसन्धान भइरहेको बताए ।

प्रकाशित : २०७७ कार्तिक २७, बिहीबार १८:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ