जनकपुर : आरतीमाथि श्रीमानले नै एसिड प्रहार गरेको खुलासा, यसरी पक्राउ परे


जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर २० घर भई वडा नम्वर ७ स्थित माइतमा बस्दै आएकी २१ वर्षीया आरती साहमाथि श्रीमानले नै एसिड प्रहार गरेको खुलेको छ ।

घटनाको तीन घण्टा नबित्दै श्रीमतीमाथि एसिड प्रहार गर्ने २४ वर्षीय संजीव साहलाई प्रहरीले पक्राउ गरिसकेको छ । बिहान साढे ८ बजे एसिड प्रहार गरी भागेका साह बिहान सवा ११ बजे पक्राउ परेका हुन् ।

उनी जनकपुरधाम ४ मा डेरा गरी बस्दै आएका थिए। जनकपुरकै संकटमोचन मावि नजिकबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
हात, अनुहार, पेट, छातीलगायत शरीरका मुख्य भागमै एसिड प्रहार गरिएका कारण आरतीको अवस्था गम्भीर छ ।

प्रहरी निरीक्षक राजेश सिग्देलका अनुसार साहले श्रीमतीमाथि एसिड प्रहार गर्दा ३ वर्षीया छोरी रिया साहलाई पनि परेको छ ।

आमा र छोरी दुवैको उपचार अहिले जनकपुरस्थित जानकी हेल्थ केयर एण्ड टिचिङ अस्पतालमा भइरहेको छ। आमाको अवस्था गम्भीर छ भने छोरीको अवस्था सामान्य रहेको चिकित्कसले जनाएको छ।

एसिडले आरतीको शरीरको २० प्रतिशत भाग जलेको चिकित्सकलाई उद्धृत गर्दै प्रहरी निरीक्षक सिग्देलले जानकारी दिएका छन् ।

स्रोतका अनुसार आरती र संजीवबीच साढे तीन वर्ष अगाडि सामाजिक रितिरिवाज अनुसार विवाह भएको थियो ।

तर पारिवारिक विवादका कारण आरती लामो समयदेखि माइतमै बस्दै आएकी थिइन् । उनीहरुबीच सम्बन्ध के कारणले बिग्रेको कुरा खुल्न सकेका छैन।

प्रकाशित : २०७७ कार्तिक २९, शनिबार १४:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ