प्रदेश २ मा युवा उमेरका संक्रमित धेरै, १९० जनाको मृत्यु


जनकपुरधाम : प्रदेश २ मा कोरोना भाइरसबाट संक्रमित हुनेमा युवा उमेरका बढी देखिएका छन् ।

कोरोनाले सामान्यत: बालबालिका तथा ज्येष्ठ नागरिकलाई सहजै संक्रमण हुने गर्छ । प्रदेश २ का विभिन्‍न जिल्लामा संक्रमित भएकाहरुको उमेर समूह हेर्दा युवा व्यक्तिहरु बढी देखिएका हुन् ।

प्रदेशस्थित स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार शुक्रबारसम्म यस प्रदेशमा १६ हजार ५८४ जना संक्रमित भएका छन् । तीमध्ये १० वर्षमुनिका जम्मा २ प्रतिशत बालबालिकाहरूमा संक्रमण देखिएको छ । १० वर्षमुनिका ३८६ जना बालबालिका संक्रमित छन् ।

११ वर्षदेखि १९ वर्ष उमेर समूहका १ हजार ७९५ जना अर्थात् ११ प्रतिशत संक्रमित भएका छन् भने २० वर्षदेखि ५९ वर्ष उमेर समूहका १३ हजार १६० जना अर्थात् ७९ प्रतिशत संक्रमित छन् ।

६० वर्षभन्दा बढी उमेरका ६ प्रतिशत अर्थात् ९७४ जना संक्रमित भएका छन् । तथ्यांक अनुसार कुल संक्रमितमध्ये २६९ जना अर्थात् १ दशमलव ६२ प्रतिशत संक्रमितको उमेर समूह खुल्न सकेको छैन ।

प्रदेश २ मा अहिलेसम्म २ हजार ८७७ जना महिला र १३ हजार ७०७ जना पुरुष गरी १६ हजार ५८४ संक्रमित भएका छन् । तीमध्ये १९० जनाको मृत्यु भइसकेको छ भने १५ हजार ६५६ जना कोरोनामुक्त भएको निर्देशनालयको तथ्यांकले पुष्टि गर्छ ।

तथ्यांक अनुसार शुक्रबार यस प्रदेशका सबै (८) जिल्लामा गरी ७६४ जना सक्रिय संक्रमित छन् ।

प्रकाशित : २०७७ मंसिर १२, शुक्रबार १४:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ