उदयपुरमा बम विष्फोट : ५ जना घाइते, मोटरसाइकल खरानी बन्यो


उदयपुर : बिहीबार राति उदयपुरको सौर्य सिमेन्टका लागि चुनढुंगा उत्खनन गर्ने खानीमा बम विष्फोट हुँदा पाँच मजदुर घाइते भएका छन् । बम विष्फोटबाट चार वटा स्काभेटर र एउटा मोटरसाइकलमा समेत क्षति पुगेको छ ।

विष्फोटनमा परेर उद्योगमा कार्यरत कटारी नगरपालिका ८ का २४ वर्षीय विष्णुबहादुर मगर, ७ का २३ वर्षीय नवीन मगर, उदयपुरगढी गाउँपालिका २ का २५ वर्षीय दुर्गा तामाङ्ग, मकवानपुर जिल्लाका ३० वर्षीय सागर मोक्तान, १८ वर्षीय शिवशंकर मोक्तान घाइते भएको प्रहरीले बताएको छ ।

प्रहरी कार्यालय कटारीका डीएसपी हेमेन्त भण्डारीका अनुसार विष्फोटबाट बा १ ख ७९९२ नम्बरको स्काभेटर पूर्ण रुपमा जलेको छ । अन्य तीनवटा स्काभेटर र एउटा मोटरबाइकमा क्षति पुगेको छ ।

विष्फोट भएपछि भाग्ने क्रममा त्यहाँ कार्यरत मजदुर घाइते भएको प्रहरीले बताएको छ । घाइते सबैको कटारी अस्पतालमा उपचार भइराखेको छ । उनीहरुको अवस्था सामान्य छ ।

मध्यरातमा अज्ञात समूहले बम विष्फोट गराएको बताइएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ । उक्त क्षेत्रमा चारवटा बम विष्फोट भएको र अझै दुईवटा शंकास्पद वस्तु रहेको प्रहरीको भनाइ छ ।  घटनास्थलमा अहिले प्रहरीले घेरा हालेको छ ।

प्रहरीले विष्फोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको संलग्नता रहेको आशंका गरे पनि बम विष्फोटको जिम्मेवारी कसैले लिएको छैन ।

प्रकाशित : २०७७ मंसिर १९, शुक्रबार १२:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ