किसानहरूले गरे भारत बन्द, लिकमा धर्ना बसेपछि रेल पनि बन्द !


एजेन्सी : कृषि विधेयकविरुद्ध आन्दोलनरत भारतका किसानहरूले मंगलबार भारत बन्द गरेका छन् । सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै उनीहरूले देशव्यापी बन्द आह्वान गरेका हुन्‌ ।

किसानहरूले आह्वान गरेको भारत बन्दलाई त्यहाँका २४ राजनीतिक दलहरूले समर्थन गरिसकेका छन्‌ । तर किसान नेताहरूले आफ्नो आन्दोलनलाई राजनीतिक प्रयोजन नगर्न दलहरूलाई आग्रह गरेका छन्‌ । किसानहरूको माग जायज रहेको ठहर्‍याउँदै कांग्रेस र वामपन्थी समेत क्षेत्रीय स्तरमा बलिया मानिने डीएमके, टीआरएस, सपा, बसपा, आरजेडी, शिवसेना, एनसीपी, अकाली दल, आम आदमी पार्टी, जेएमएम र गुपकर गठबन्धनले भारत भन्दको समर्थन गरेका हुन्‌ ।

​किसान युनियन ९क्रान्तिकारी० का अध्यक्ष दर्शनपाल सिंहले सबै राजनीतिक दलहरूलाई धन्यवाद दिएका दिँदै भारत बन्दका बेला आफ्ना झण्डा र ब्यानरलाई घरमै छाडेर आउन तथा किसानलाई मात्रै समर्थन गर्न आग्रह गरेका छन्‌ । हालै ल्याइएका कृषिसम्बन्धी कानुनहरु रद्ध नगरिएमा देशव्यापी बन्द अन्तर्गत सवै सडकहरुमा अवरोध गरिएका सहभागीहरुले बताउँदै आएका छन् ।

सरकारले ल्याएको कानुन लागु भएपछि थप मर्कामा पर्ने, कृषिजन्य उत्पादनले पर्याप्त मुल्य नपाउने दाबी आन्दोलनरत किसानहरुको रहेको छ । केही महिना अगाडि नै पारित भएको कानुनप्रति किसानहरूले त्यतिबेला देखि नै असन्तुष्टि जनाउदै आएपनि आन्दोलन भने केही समय अगाडिदेखि मात्रै शुरु भएको हो ।

अहिले केन्द्रीय राजधानी नयाँ दिल्लीलाई समेत प्रभावित पार्नेगरी आन्दोलन सुरु भएकाले केन्द्रीय सरकार अहिले दवावमा परेको छ । आन्दोलन चर्किँदै गएपछि सरकारले किसानहरूसँग पटक पटक वार्ता पनि गरेको छ । तर वार्ता परिणाममुखी हुन सकेको छैन ।

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतमा सेप्टेम्बर तेस्रो साता ल्याएका कृषिसम्बन्धी विभिन्न कानुनहरूको विरोधमा किसानहरूले प्रदर्शन चर्काएका हुन् । किसानहरूले दिल्लीको सीमाक्षेत्रमा हजारौँको संख्यामा उपस्थित भई ११ दिनदेखि विरोध प्रदर्शन गर्दै आएका छन् ।

लिकमै किसानहरु धर्ना बसेपछि कैयौं राज्यमा रेल सेवा समेत ठप्प भएको छ । केहि राज्यमा भने बन्दको प्रभाव पर्न सकेका छैन ।

प्रकाशित : २०७७ मंसिर २३, मंगलवार १०:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ