Breaking- विप्लव समुहद्वारा गोली हानेर शिक्षकको हत्या


काठमाडौं : नेत्रविक्रम चन्द विप्लव समूहले मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या गरेको छ ।

प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार मिक्लाजुङ गाउँपालिका-१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो । उनलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर विप्लव माओवादीले हत्या गरेको प्रहरी उपरीक्षक खड्काले बताए ।

‘बिहान सवा ६ बजेतिर चार पाँच जनाको संख्यामा आएका विप्लव समूहका कार्यकर्ताले शिक्षकलाई घरबाट उठाएका थिए,’ खड्काले भने, ‘घरदेखि करिब ३० मिनेट टाढा जंगलमा लगेर हत्या भएको छ ।’

प्रहरीले हत्या गर्नेहरूको खोजी गरिरहेको खड्काले बताए । श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेको खड्काले बताए ।

शिक्षक श्रेष्ठको टाउकोमा गोली लागेको खड्काले बताए । ‘हाम्रो प्रहरी टोली अहिले घटनास्थलतर्फ गइरहेको छ, घटनास्थल पुगेपछि विस्तृत जानकारी आउँछ,’ खड्काले भने ।

मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यका अनुसार बिहानै शिक्षकलाई ‘अज्ञात समूह’ले अपहरण गरेको बताए । ‘अपहरण भएको केही समयमै हत्या भयो भन्ने खबर आएको छ,’ उनले भने, ‘हामी जाँदैछौं, यहाँबाट घटनास्थल पुग्न दुई घन्टा लाग्छ।’

सेतोपाटी

प्रकाशित : २०७७ मंसिर २३, मंगलवार ११:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ