रिक्सामा छुटेको ७ लाख रुपैयाँ चालकले फिर्ता गरे, जताततै चर्चा


बाँके : नेपालगञ्ज उपमहानगरपालिका १४ निवासी रिक्सा चालक देवराज बर्माले रिक्सामा छुटेको रु सात लाख ४० हजारसहितको झोला सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन् ।

सोमबार भारतबाट घर फर्कने क्रममा घोराही उपमहानगरपालिका ५ धर्ना दाङ निवासी दत्तबहादुर नाथको रिक्सामा छुटेको रकमसहितको झोला बर्माले मङ्गलबार जिल्ला प्रहरी कार्यालमा पुगेर फिर्ता गरेको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार रिक्सामा झोला छुटेको जानकारी पाएलगत्तै नाथले सोमबार नै जिल्ला प्रहरी कार्यालय बाँकेमा जानकारी गराएका थिए । पैसासहितको झोला हराएको खबर पाएको प्रहरीले सडकमा राखिएको सिसी क्यामेराको मद्दतले नाथ चढेको भे १ ह ५०१९ नंको अटोरिक्सा पहिचान गरी चालकलाई खबर गरेपछि रकम फिर्ता भएको हो ।

प्रहरीले रिक्साचालक बर्मालाई सम्पर्क गरी रकमसहितको झोला मगाएको थियो । झोला बोकेर प्रहरी कार्यालय पुगेका बर्माले प्रहरीको रोहवरमा सम्बन्धित व्यक्तिलाई झोला फिर्ता गरेका हुन् । प्रविधिको प्रयोगबाट नगदसहितको झोला हराएको केहीबेरमै फेला पार्न प्रहरी सफल भएको प्रहरी उपरीक्षक रानाले बताए ।

यसैगरी जिल्ला प्रहरी कार्यालय बाँकेले जबर्जस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय सुनाइएका अभियुक्तलाई ११ वर्षपछि पक्राउ गर्न सफल भएको छ । सात वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार भएका बाँकेको नरैनापुर गाउँपालिका २ का ३४ वर्षीय हेमन्तकुमार शर्मालाई प्रहरीले पक्राउ गरेको बाँकेका प्रहरी उपरीक्षक रानाले जानकारी दिए ।

उनका अनुसार शर्माले विसं २०६६ कात्तिक २७ गते राति साविकको कालाफाँटा गाविस ३ हाल नरैनापुर गाउँपालिका ३ निवासी सात वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेका थिए । उनलाई जिल्ला अदालत बाँकेले विसं २०६८ असार ३१ गतेको १० वर्ष कैद सजायको आदेश सुनाएको थियो ।

रासस

प्रकाशित : २०७७ मंसिर २४, बुधबार १०:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ