उखुको समर्थन मूल्य प्रतिक्वीन्टल ८ रुपैयाँ बढाउने सरकारको निर्णय


काठमाडौं : सरकारले यस वर्ष उखुमा प्रतिक्वीन्टल ८ रुपैंया बढाउँदै न्यूनतम् समर्थन मूल्य तोकेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको प्रतिक्वीन्टल न्यूनतम् समर्थन मूल्य ५ सय ४४ रुपैयाँ ३३ पैसा तोकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

उखुको नयाँ समर्थन मूल्य यसअघिको भन्दा ८ रुपैयाँ प्रतिक्वीन्टलले मात्र बढी गरेकमा उखु किसानले भने असन्तुष्टी जनाएका छन् ।लागत, ढुवानी र मुनाफा जोडेर कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको सिफारिश मन्त्रिपरिषदमा पेश गरिएअनुसार निर्णय लिइएको हो ।

नयाँ मूल्यमा लागत ३८६ रुपैयाँ १६ पैसा, ढुवानी खर्च तथा मुनाफा ९२ रुपैयाँ ८९ पैसा र सरकारले दिने प्रतिक्वीन्टल अनुदान ६५ रुपैयाँ २८ पैसा रहेको मन्त्रालयकी उपसचिव एवं सहप्रवक्ता उर्मिला केसीको भनाइ छ ।

सरकारले तोकेको उखुको नयाँ मूल्यप्रति आपत्ति जनाउँदै नेपाल उखु उत्पादक महासंघले यो किसानलाई खेतीबाटै विस्थापित गर्ने चाल भएको जनाएको छ । चिनीको मूल्य एक किलोमा ३२ रुपैयाँले बढ्दा उखुको मूल्य भने निकै कम मात्रामा बढाउनु स्वीकारयोग्य नभएको महासंघका अध्यक्ष कपिलमणि मैनालीको भनाइ छ ।

मैनालीले उखुको न्यूनतम् समर्थन मूल्य तोक्दा सरकार चिनी उद्योगीसामु झुकेको आरोप पनि लगाए ।

प्रकाशित : २०७७ मंसिर २७, शनिबार ०९:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ