प्रधानमन्त्री कप : प्रदेश २ पराजित, लुम्बिनीको सुखत सुरुवात


दाङ : शनिबारबाट सुरु भएको प्रधानमन्त्री राष्ट्रिय महिला टि–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा लुम्बिनीले प्रदेश २ लाई ९ विकेटले पराजित गरेको हो ।

लुम्बिनीले प्रदेश २ ले दिएको ७७ रनको लक्ष्य १६.१ ओभरमा मात्र १ विकेट  गुमाउँदै पूरा गर्‍यो । उसका लागि अविजित रहेका गीता गोसाई २३ र कप्तान नेरी थापाले १५ रनको रनको योगदान दिए ।

४२ बलको सामना गरेकी गीता तथा १२ बलको सामना गरेकी नेरीले समान २–२ चौका प्रहार गरे । सरस्वती जिएमले २२ रनको योगदान दिइन् । प्रदेश–२ का लागि एक मात्र विकेट कविता गौतमले लिइन् ।

यसअघि लमही क्रिकेट मैदानमा टस हारेर ब्यटिङको निम्तो पाएको प्रदेश–२ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७७ रनको योगफल तयार पारेको थियो । उसका लागि कुनै पनि खेलाडीले उल्लेखनीय योगदान दिन सकेनन् ।

अनुराधा चौधरी र सान प्रविनले समान २१–२१ रन प्रहार गर्नु नै प्रदेश–२ का लागि सर्वाधिक व्यक्तिगत रनको योगदान बन्न पुग्यो । विमला मगरले १० रनको योगदान दिइन् ।

१२.४ ओभरमा गीता गोसाईको बलमा विकेटकिपर नितु भण्डारीबाट स्ट्याम्पिङ हुनुअघि अनुराधाले ४१ बलमा १ चौका प्रहार गरिन् । १९.१ ओभरमा रन आउट भएकी सानाले ४८ बलको सामना गरिन् ।

लुम्बिनीका लागि सुस्मिता भुषालले ३  तथा स्वस्तिका बजगाईँ, नेरी थापा र गीता गोसाईले समान १–१ विकेट हात पारे । एक विकेट रन आउटका रूपमा प्राप्त भयो ।

आइतबार लुम्बिनीले कर्णालीसँग तथा प्रदेश–२ ले विभागीय टोली एपिएफसँग आफ्नो दोस्रो खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित : २०७७ पुष ११, शनिबार १५:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ