प्रदेश १ : मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता, आचार्य मुख्यमन्त्री प्रस्तावित


काठमाडौं : विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएको छ ।

भीम आचार्यलाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो । आचार्य तत्कालिन नेकपा एमालेको संसदीय दलको निर्वाचनमा शेरधनसँग पराजित भएका थिए ।

शनिवारमात्रै अर्थमन्त्रीबाट बर्खास्त भएका इन्द्र आङ्बो प्रस्ताबक र लक्ष्मण तिवारी समर्थक भएर मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो । अहिले प्रचण्ड-माधव नेपाल पक्षका नेताहरु प्रदेशसभा सचिवालयमा छन् । दर्ता प्रक्रिया चलिरहेकाे एक नेताले नेपालप्रेसलाई जानकारी दिए ।

आजै राई मन्त्रिपरिषदका तीन मन्त्रीले राजिनामा दिएका थिए । मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड-माधव नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गर्न लागेकै बेला प्रदेश १ सरकारले प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरिसकेकाे छ ।

आज विहान बसेको मन्त्रिपरिषद बैठकले माघ ७ गते प्रदेशसभा बैठक बोलाउन मन्त्रिपरिषदले प्रदेश प्रमुख समक्ष सिफारिस गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

प्रचण्ड-माधव नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गरेसँगै मुख्यमन्त्री राई अल्पमतमा परेका छन् ।

प्रकाशित : २०७७ पुष १२, आईतवार १०:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ