प्रदेश २ : अस्पतालमा छटपटाउँदै बलात्कृत ७ वर्षीया अबोध बालिका


रौतहट : अस्पतालभित्र आउजाउ गर्ने बाटो छेउको बेडमा ओठ सुकेकी र अनुहार मलिन भएकी बालिका सुतेकी छन् । बेडकै एक छेउमा आमा र आफन्त उनको अनुहार हेर्दै चिन्तित मुद्रामा छन् ।

गत सोमबार बलात्कृत ७ वर्षीया बालिकाले उचित उपचार र सुरक्षा नपाएको पीडित परिवारले गुनासो गरेका छन् । ती अवोध बालिका चन्द्रनिगाहपुर सरकारी अस्पतालमा जीवन–मरणको छटपटी व्यहोरिरहेकी छन् । मंगलबारदेखि अस्पतालमा राखिएकी उनलाई सामान्यबाहेक उपचार हुन सकेको छैन । बालिकाको बिग्रिँदो अवस्थाले अभिभावक छटपटाइरहेका छन् ।

सोमबार दिउँसो करिब १२ बजे रौतहटको चन्द्रपुर नगरपालिका–७ की बालिकालाई २२ वर्षीय दिनेश दास तत्माले बलात्कार गरी घाइते बनाएका थिए । पैसाको प्रलोभन देखाई उनलाई दासले घरनजिकै आम खोला किनारमा लगेर बलात्कार गरेका थिए । प्रहरीले ती बालिकालाई सोमबारै अस्पताल पुर्‍याएको थियो। त्यसदिन सामान्य उपचार गरी अस्पतालले घर पठाएको थियो ।

घरमा उनको स्वास्थ्यमा थप समस्या आयो। अत्यधिक रक्तश्राव भयो। पुनः उपचारका लागि त्यही अस्पताल लगियो। तर, स्वास्थ्यकर्मीले उपचारमा ध्यान नदिएको अधिकारकर्मी र आफन्तले गुनासो गरेका छन् । घटना भएकै दिन अस्पताल पुर्‍याउँदा डा. जहुर राइनले प्राथमिक उपचार मात्रै गरेर घर पठाएको पीडित पक्षको भनाइ छ । मंगलबार पुनः अस्पताल पुर्‍याउँदा पनि वास्ता नगरेको गुनासो छ । धेरै अनुरोधपछि बालिकाको घाउमा टाँका लगाइएको अभिभावकले बताए ।

बुधबार दिउँसोसम्म रक्तस्राव रोकिएको छैन। बालिका बोल्न डराउँछिन् । छेउमा बसेकी आमा छोरीलाई केही हुन्छ कि भन्ने चिन्तामा छिन् । बाबु अस्पतालबाहिर र भित्र गरेर छटपटाइरहेका छन् । बलात्कारजस्तो घटनाका पीडितलाई धेरै भीड हुने ठाउँमा राखिएको छ ।

चन्द्रपुर नगरपालिकाका उपमेयर रामरती चौधरीले उपचारमा आवश्यक संवेदनशीलता नदेखिएको जनाउँदै त्यसको उचित व्यवस्था मिलाउन आग्रह गरिन् । अस्पताल पुगेका नगरपालिकाका जनप्रतिनिधि तथा अधिकारकर्मीले बलात्कारीलाई हदैसम्म कारबाहीसमेत माग गरेका छन् । आरोपीलाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

अस्पतालका निमित्त इन्जार्जसमेत रहेका डा. राइनले बालिकाको उपचारमा कुनै कमी नराखेको प्रतिक्रिया दिएका छन् । अस्पतालकी नर्स कुन्ता दाहालले बालिकाको उपचार र रेखदेखमा स्वास्थ्यकर्मीहरू सक्रिय रहेको बताइन् ।

अन्नपुर्ण पोस्टबाट

प्रकाशित : २०७७ पुष १६, बिहीबार ०८:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ