मैथिली खानाको प्रवर्द्धन गर्न राजधानीमा प्रदर्शनी


काठमाडौं : कला, साहित्य र संगीतमा निकै धनि मिथिला क्षेत्रको मौलिक खानापान प्रवर्द्धन गर्ने उद्देश्यले सो क्षेत्रको विविध परिकारहरुको बुधबार राजधानीमा प्रदर्शनी गरिएको छ ।

मिथिला क्षेत्रमा अतिथिलाई सत्कारमा पस्किने मट्का चियादेखि विदाइमा डेजर्टका रुपमा खुवाइने पानसम्मका परिकारलाई ललितपुर सातदोबाटोस्थित आइएचएम कलेजमा सेफहरुले पस्किएका छन् ।

नेपाली मौलिक खानापानको प्रवर्द्धनमा काम गर्दै आएको आईएम विथ सेफको आयोजना तथा आइएचएम कलेज र हस्पिटालिटी गाइड्सको संयुक्त आयोजनामा विज्ञ सेफहरु पशुपति पौडेल, महेश साह, सतिस महतो र विकास डंगोललगायतको टिमले मिथिलाको मौलिकता झल्कने गरी मट्का चिया, बगिया, तरुवा, बथुवाको सागको सुप, मिथिला थालि सेट, आँपको अचार, आलु चोखालगायतका परिकारहरु पस्किएका थिए ।

सेफ एसोसिएसन अफ नेपाल क्यानका संस्थापक अध्यक्ष पुष्प थापा मगर, मिथिला संस्कृतविद् धिरेन्द्र प्रेमर्षि, कलाकार अजित शाह, आरएण्डडी सेफ सन्दिप खत्री, आईएचएम कलेजका सीईओ सुराच प्रसाईले मिथिलाको मौलिकता र पहिचानसँग जोडिएको खानाको प्रदर्शनीले समग्र नेपाली खानाको बजारीकरणमा प्रोत्साहन पुग्नेमा जोड दिए ।

सेफ पुष्प थापा मगरले मिथिलाको मौलिक खाना, मिथिला क्षेत्रको मात्रै नभएर सिंगो नेपालकै परिचय भएको भन्दै आफूहरुले यसको प्रवर्द्धनमा विशेष भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मिथिला संस्कृतिविद् प्रेमर्षिले मिथिला क्षेत्र परापूर्व कालदेखि नै संस्कार र सत्कारमा सधैँ अघि रहे पनि आर्थिक विपन्नता र खानापान प्रवर्द्धनको महत्व बुझ्न नसक्दा सधैँ पछि परेको बताए ।

त्यस्तै नेपाली मौलिक खानाको प्रवर्द्धनमा सक्रिय सेफ खत्री मिथिलाको खानापान मल्ल राजा र मिथिला राजाहरुबीचको पारिवारिक सम्बन्धजत्तिकै पुरानो रहेको भन्दै खानासँग जोडिएको मिथिलाको कला र संस्कृति निकै सम्पन्न रहेको बताए ।

त्यस्तै आईएचएम कलेजका सीईओ प्रसाईंले सेफ सन्तोष साहले बीबीसी मास्टर सेफको विश्वमञ्चमा मिथिला र समग्र नेपाली खाना पस्किँदा आज विश्व समुदायले नेपालको खाना र संस्कृतिको विविधता बुझेको भन्दै हरेक क्षेत्र र व्यक्तिले सकारात्मक सोच र सेवाको भावनाले खानापान प्रवर्द्धनमा रचनात्मक भूमिका निर्वाह गर्नपर्ने धारणा राखे ।

ग्लोबल नेप्लिज सेफ फेडेरेसनका महासचिव मोहन गजुरेलले सीटीईभीटीले नेपाली मौलिक खानाको अध्ययनबारे कोर्स नै तयार गरिरहेको जानकारी दिँदै अब विभिन्न विश्वविद्यालयहरुले पनि आफ्ना एकेडेमिक कोर्सहरुमा १ सय २८ जातिका मौलिक खानापानबारेको अध्ययन र प्रशिक्षणसम्बन्धी कोर्सहरु समावेश गर्नुपर्ने आवश्यकता औँल्याए ।

खानामाथिको समीक्षा कार्यक्रममा कलाकार अजित साह, सेफ पशुपति पौडेल, सेफ महेश साह, पत्रकार तथा गायिका रुपा झा, पत्रकार अमरेन्द्र यादवलगायतले धारणा राखेका थिए ।

नेपालखबर

प्रकाशित : २०७७ पुष २३, बिहीबार १४:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ