सप्तरी प्रहरीद्धारा लागुऔषध र लुटपाटमा संलग्न चार जना पक्राउ


सप्तरी :  प्रहरीले  लागु औषधमा दुई  र लुटपाटमा संलग्न दुई गरी चार जनालाई पक्राउ गरेको छ । प्रहरीले सप्तरी डाक्नेस्वरी नगरपालिका ३ हटेलाट प्र.२–०३–००७ प ७३१९ नम्बरको मोटरसाईकलमा सवार सप्तरी शम्भुनाथ नगरपालिका–२का २६ वर्षीय जिगेन्द्र कुमार साह र मोटरसाईकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीया मोहम्मख सदामलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले अभियुक्तका साथबाट नेट्राभेट–१९ ट्याव्लेट १२ पत्ता ३६० पिस र  गाजा एक पुरिया (करिब २० ग्राम) बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय कल्यानपुर खटीएको प्रहरी टोलीले अभियुक्तहरुलाई लागु औषध मुद्दामा  जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान  गरिरहेको जनाएको छ ।

त्यस्तै प्रहरीले लुटपाटमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका–७ का २४ वर्षीय नन्दी पासवान र सोही ठाउँका राजु कुमार साह छन् । पासवान र साहसहित दुई वटा मोटरसाईकलमा सवार रहेका चार जनाले सुरुङ्गा नगरपालिका–७ हरिपुरस्थित कुशहा–बेल्ही सडकखण्डमा एक जनालाई कुटपिट गरी लुटपाट गरेको आरोप छ ।

गत शुक्रबार राति साढे ८ बजेतिर शम्भुनाथ नगरपालिका–६ लतियाहीका अनिषकुमार चौधरीलाई कुटपिट गरी उनी सवार स ३ प ९१६९ नम्वर मोटरसाईकल, नगद र मोवाइल लुटपाट गरी चारै जना फरार भएका थिए ।

लुटपाट गरी दक्षिणतर्फ फरार भएको सूचनाअनुसार खोजी गर्ने क्रममा बलान विहुल गाउँपालिका–४ वेल्ही चौकबाट पासवान र साहलाई लुटेको स ३ प ९१६९ र स २ प ८४४२ नम्वरको मोटरसाईकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुसँगै संलग्न अन्य दुई भने  फरार छन् । फरार दुवैको खोजीकार्य तिव्र पारिएको ईलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

यसअघि आइतबार मात्रै सप्तरी प्रहरीले सोही नगरपालिका–२ हर्दिया स्थित  नेपाल टेलिकमको जिएसएम मोबाइलको बिटीएस साइट (टावर) बाट २४ थान ब्याट्रीसहितका सरसमान चोरी गर्ने चार जनालाई पक्राउ गरी सार्वजनिक गरेका थिए ।

प्रकाशित : २०७७ माघ १३, मंगलवार १०:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ