जेलबाटै आलमको आतंक : बम विस्फोटका साक्षीले सुरक्षा पाएनन्, फेर्न थाले बयान


काठमाडौं : रौतहटको फरहदवामा जिउँदै मान्छेलाई इँटाभट्टामा पोलेर हत्या गरेको जघन्य अपराधमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद अफताब आलम अहिले पुर्पक्षका लागि काठमाडौंको नख्खु जेलमा छन्।

तर, पैसा र प्रभावले जिल्लामा उनको आतंक र त्रास अहिले पनि उस्तै छ । आफूविरुद्ध जाहेरी दिने र सरकारी साक्षी बस्नेहरूलाई आलमले डर, त्रास र आर्थिक प्रलोभन देखाएर प्रभावित गरिरहेका खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन् ।

आलमविरुद्ध जाहेरी दिएका सर्लाही गोडैलाका ६० वर्षीय शेख सफी अहमदले पनि आफ्नो बयान फेरेका छन् । यसअघि भट्टामा कोचेर हत्या गरिएका युवाकी पत्नी र ससुराले पनि आलमको दबाब र प्रभाव थेग्न नसकेर बयान फेरेका थिए।

पहिलो संविधानसभा निर्वाचनमा बुध कब्जा गर्ने योजनासहित अफताब र उनका भाइ महताबले बम बनाउन भारतबाट कालिगढ नै मगाएका थिए । फरहदवा (अहिलेको राजपुर–२) स्थित आलमका काका शेख इन्द्रिसको गोठमा बम बनाउने कालिगढलाई सघाउन स्थानीय युवाहरू पिन्टु भनिने त्रिलोकप्रताप सिंह र मोहम्मद ओसी अख्तरलाई बोलाइएको थियो । तर, निर्वाचनको अघिल्लो दिन २७ चैत ०६४ को साँझ दुर्घटनावश बम विस्फोट भयो।

बम बनाउने कालिगढको घटनास्थलमै ज्यान गयो, नजिकै रहेका पिन्टु र ओसी घाइते भए । उपचार गर्दा घटना सार्वजनिक हुने डरले उनीहरूलाई इन्जेक्सन दिएर बेहोस बनाइयो र ट्र्याक्टरमा हालेर इँटाभट्टामा पुर्‍याइयो । जहाँ उनीहरूलाई अन्य मृतकसँगै जिउँदै इँटाभट्टामा कोचेर खरानी बनाइयो । ‘युवाहरूको शरीर जिउँदै भट्टामा नछिरेपछि नजिकै दाउरा चिर्ने ठाउँबाट बन्चरो ल्याएर शरीर गिँडिएको थियो,’ परिवारका सदस्यहरूले त्यतिखेर प्रहरीलाई दिएको उजुरीमा भनिएको छ।

यता आलम भने चुनाव जितेर ०६७ मा मन्त्री नै भए । ०७४ को निर्वाचनमा फेरि निर्वाचित भएका थिए । फौजदारी अभियोग लागेपछि मात्रै उनी निलम्बित भएका थिए । आतंक र प्रलोभनका भरमा पीडितलाई प्रभावित पार्दै आएका उनी शक्तिका आधारमा १२ वर्षसम्म कानुनी कारबाहीबाट पनि बच्दै आएका थिए । गत वर्ष मात्रै उनी पक्राउ परे ।

आलम पक्राउ परेपछि सफी अहमद प्रहरीको सम्पर्कमा पुगे । उनले आलमविरुद्ध जाहेरी दिए । जाहेरी दिनेमा भट्टामा जलाएर हत्या गरिएका त्रिलोकका बुबा श्रीनारायण सिंह पनि थिए । उनीहरूकै जाहेरीका आधारमा आलम पुर्पक्षका लागि जेल चलान भएका थिए । तर, जेलभित्रैबाट पनि उनले आतंक र प्रलोभनका भरमा पीडितहरूलाई प्रभावित बनाइरहेका छन् ।

जिल्ला अदालत रौतहटमा गरेको बयानमा सफी अहमदले फरहदवामा विस्फोट भएका दिन आफू भारतको पन्जाबमा रहेको बताएका छन् । बमका छर्राले छाती र पेटमा बनाएको घाउका खाटालाई उनले तातो तेलले पोलिएर दाग बसेको बकपत्र गरेका छन्।

जब कि, सोफी अहमदले यसअघि ०७६ असोजमा प्रहरीमा दिएको जाहेरीमा भने २७ चैत ०६४ को साँझ राजपुरस्थित शेख इद्रिसको गोठमा बम विस्फोट भएको र आफू त्यही विस्फोटमा परी घाइते भएको उल्लेख गरेका थिए । अदालतमा बकपत्र गर्दा भने उनले प्रहरीले जबर्जस्ती उजुरीमा हस्ताक्षर गर्न लगाएको बताएका छन्।

उनले भनेका छन्, ‘घर आएको वेला मलाई प्रहरीले पक्राउ गरी चन्द्रनिगाहपुर लगेर गए । त्यहाँ थुनामा राखे, कुटपिट गरे । उनीहरूले नै झुटा कागजात बनाए । मलाई जबर्जस्ती गरेर सोही कागजातमा हस्ताक्षर गर्न लगाए । त्यसैले मैले दिएको जाहेरी सही होइन।’

पक्राउ परेपछि आलमले जाहेरी दिने सफी अहमद र श्रीनारायण सिंह तथा सरकारी साक्षी बनेका समसुल मियाँ र उनकी छोरी अमना खातुनलाई प्रभावमा पार्न सुरु गरेका थिए । श्रीनारायणबाहेक तीनैजना प्रभावमा परिसकेका छन् । यो घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार आलमकै दबाब र प्रभावमा परेर तीनजनाले बयान फेरेका हुन्।

आलमविरुद्धको मुद्दाका सरकारी साक्षी एकजनालाई अदालतले अंगरक्षक दिने भने पनि अहिलेसम्म दिएको छैन । अर्का एकजनालाई दिइएको अंगरक्षक पनि झिकिएको छ ।

मुद्दाका मुख्य सरकारी साक्षी जनता समाजवादी पार्टीका नेता शैलेन्द्र साहलाई सुरक्षा थ्रेट भएको निष्कर्षपछि गत चैतमा अदालतले अंगरक्षक खटाउन भनेको थियो । लगत्तै जिल्ला प्रशासन कार्यालय रौतहटले अंगरक्षक खटाउने निर्णय गरेको थियो । तर, अहिलेसम्म खटाइएको छैन।

प्रकाशित : २०७७ माघ १५, बिहीबार १०:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ