खेत खन्दा १ सय ८५ राउण्ड गोली भेटियो


विराटनगर : मोरङ प्रहरीले उर्लाबारी नगरपालिका १ बाट १ सय ८५ राउन्ड गोली बरामद गरेको छ । स्थानीय लक्ष्मीझारका दलबहादुर लिम्बुको घरभन्दा ५ मिटर दक्षिणमा रहेको खेतबारीबाट गोली बरामद भएको हो ।

बुधबार दिउँसो ३ बजे खेतबाट कालो रंगको प्लाष्टिकमा पोको पारिएको अवस्थामा गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) मानबहादुर राईले बताए । भक्तबहादुर सुवेदीले खेत खन्ने क्रममा गोली भेटाएको डिएसपी राईको भनाई छ ।

डिएसपी राईका अनुसार ७.६२ एमएमको १ सय ८५ राउन्ड गोली बरामद गरेको हो । उक्त गोली एसएलआर बन्दुकमा प्रयोग हुने उनले बताए । ‘धेरै अगाडि नै गाडेको हुनुपर्छ । खेत खन्दा भेटियो,’ डिएसपी राईले भने ।

इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले सो गोली बरामद गरेको हो । प्रहरीले गोली कसले राख्यो भन्नेबारे अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २०७७ माघ २२, बिहीबार ११:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ