पहिलो चरणमा ५ वटा र दोस्रो चरणमा २ वटा प्रदेशमा चुनाव गराउने सरकारको निर्णय


काठमाडौं : दुई चरणमा गर्ने गरी वैशाख १७ र २७ का लागि घोषित निर्वाचन कसरी गर्ने भन्ने विषयमा सरकारले निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा वैशाख १७ गते प्रदेश नम्बर १, २, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशमा र दोस्रो चरणमा वैशाख २७ गते बागमती र सुदूरपश्चिम प्रदेशमा निर्वाचन गराउने निर्णय गरेको हो ।

आज निर्वाचन आयोगमा गएर प्रधानमन्त्री ओलीले यिनै विषय जानकारी गराउँदै निर्वाचन तयारीबारे छलफल गर्ने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

‘देशका १३५ वटै निर्वाचन क्षेत्रमा कर्मचारी, सुरक्षा, मतपत्रलगायत विषयमा आयोगलाई सरकारले के कस्ता सहयोग गर्नुपर्छ भन्ने विषयमा प्रधानमन्त्रीज्यूले छलफल गर्नुहुन्छ,’ मन्त्री श्रेष्ठले भने।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाख १७ र २७ का लागि चुनाव घोषणा गरेकी हुन् ।

त्यही दिनदेखि विभाजन भएका नेकपाका दुई पक्षमध्ये प्रचण्ड–नेपाल समूह ओलीले असंवैधानिक कदम चालेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएको छ ।

साथै कांग्रेस, जनता समाजवादी पार्टी, नागरिक समाजलगायत पनि संसद् विघटनविरुद्ध आन्दोलित छन् । योलगायत नेकपाका दुई पक्षबीच जारी पार्टी आधिकारिताको विवादका कारण पनि वैशाखमा चुनाव हुनेमा धेरैले आशंका गरेका छन् ।

नेपालखबर

प्रकाशित : २०७७ माघ २७, मंगलवार १०:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ