सप्तरी र दैलेखबाट सुरु हुँदै विभेदविरुद्ध जागरण अभियान


विनय कर्ण,राजविराज :

राष्ट्रिय दलित मुक्ति जागरण अभियान, नेपाल (सप्तरी) ले सामाजिक न्याय, मुक्ती र विभेदविरुद्ध देशव्यापी रुपमा अभियान शुरु गर्ने भएको छ ।

सप्तरीको राजविराजमा विहिवार पत्रकार सम्मेलनको आयोजना गरी बृहत राष्ट्रिय दलित मुक्ती जागरण अभियान बारे जानकारी गराईएको हो । राजविराजस्थित राजरंगशाला मैदानमा फाल्गुन १ गते तथा दैलेख बजारबाट एकैसाथ अभियान शुरु हुन लागेको अभियानका पूर्वी संयोजक राजेश विद्रोहीले बताए ।

‘देशमा पटक पटक आन्दोलन भए, आन्दोलनमा दलित उत्पिडित समुदायले बलिदानी दियो तर, उनीहरुको आर्थिक, सामाजिक र राजनीतिक अवस्था बदलिएको छैन्,’ उनले भने,‘पछिल्लो पटक ओली नेतृत्वको सरकारकै कार्यकालमा पनि दलित समुदायले अन्याय र अत्याचार सहनु परेको छ ।’

रुकुम र तराई मधेशका विभिन्न ठाउँमा भएको हत्याकाण्ड, दलितमाथि हिंसा, बलात्कारका घटनाहरु बारे चर्चा गर्दै उनले यी घटनाहरुलाई मध्येनजर गर्दै न्याय, मुक्ती र विभेद विरुद्ध सडकमा उत्रिनुपर्ने बाध्यता आएको बताए ।

‘संयुक्त दलित संघर्षको राष्ट्रिय दलित मुक्ती जागरण अभियानले देशव्यापी रुपमा जागरण अभियान तथा विरोधका कार्यक्रम गर्ने र ओली सरकारले पछिल्लो पटक चालेको प्रतिगामी कदम विरुद्धमा पनि हाम्रो आन्दोलन हो,’ उनले स्पष्ट पारे ।

अभियान अन्तर्गत राजविराजमा २५ हजार भन्दा बढीलाई सहभागी गराईने राष्ट्रिय दलित मुक्ति जागरण अभियान, नेपाल सप्तरीका संयोजक प्रथमलाल रामले जानकारी दिए । पत्रकार सम्मेलनमा अभियानका अगुवाहरु गंगा सदा, बद्री सदा सहितको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७७ माघ ३०, शुक्रबार ०८:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ