नयाँ पार्टी खोल्ने तयारीमा त्रिपाठी, असन्तुष्ट जसपा नेतासंग छलफल चल्दै !


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदका एक सदस्यले नयाँ पार्टी गठनको तयारी थालेका छन् । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी नयाँ पार्टी गठनको तयारीमा लागेका हुन् ।

प्रधानमन्त्री ओलीले जसपाका नेताहरुलाई आफ्नो पार्टीमा प्रवेश गराइरहेका छन् । यहीबेला तराईमा राम्रो जनमत रहेका त्रिपाठीको नेतृत्वमा नयाँ पार्टी गठनको गृहकार्य भइरहेको हो ।

संघीय निर्वाचन २०७४ मा सूर्य चिन्ह लिएर स्वतन्त्र रुपमा चुनाव लडेका त्रिपाठीले यसका लागि विभिन्न पार्टीका नेताहरुसँग छलफल गरिरहेका छन् । त्यसैमध्येका एक हुन् सूर्य चुनाव चिन्ह लिएर स्वतन्त्रबाट चुनाव लडेका बृजेशकुमार गुप्ता ।

गुप्ताले नयाँ पार्टीको विषयमा छलफल भइरहेको तर टुंगो लागिनसकेको जानकारी दिए । ‘आवश्यक पर्‍यो भने पार्टी बनाउन सकिन्छ,’ गुप्ताले भने, ‘संसदीय राजनीतिमा एउटा पार्टी त चाहियो । नेपालमा कांग्रेस, एमाले, जसपा, राप्रपा कुनैपनि दल राम्रो नभएकोले नयाँ पार्टी बनाउनेगरी छलफल भइरहेको छ ।’

नयाँ पार्टी बनाउने कि अन्य कुनै पार्टीमा जाने भन्ने विषयमा छलफल हुँदा आम कार्यकर्ताले भने नयाँ पार्टी खोल्न सुझाव दिएको उनले बताए । त्रिपाठीले जनता समाजवादी पार्टी, नेकपाको ओली र प्रचण्ड–नेपाल समूहका केही नेतासँग परामर्श गरिरहेका छन् ।

‘जसपामा राजकिशोर यादव र अनिलकुमार झालगायत केही असन्तुष्ट साथीहरु परामर्शमा हुनुहुन्छ,’ त्रिपाठीनिकट एक नेताले भने, ‘प्रचण्ड–नेपाल र ओली समूहका नेताहरुसँग छलफल गरिरहनुभएको छ।’

त्रिपाठीले नयाँ पार्टी खोल्ने तयारी गरेसँगै ओली समूहमा प्रवेश गर्न ठिक्क परेका जसपाका केही नेता रोकिएका छन् । – नेपालखबर

प्रकाशित : २०७७ फाल्गुन ३, सोमबार ०७:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ