अब कक्षा १० का विद्यार्थीले पनि विद्यालय परिवर्तन गर्न पाउने


काठमाडौं : सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीलाई स्थानान्तरणको सुविधा दिने भएको छ ।

कोरोना भाइरसबाट प्रभावित भई विद्यार्थी अध्ययनका क्रममा अन्य जिल्लामा पुगेको हुन सक्ने भन्दै सरकारले एक पटकका लागि स्थानान्तरणको सुविधा उपलब्ध गराउने छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले शिक्षा नियमावलीमा आवश्यक संशोधन गरी स्थानान्तरणको सुविधा दिने प्रावधान समावेश गरिएको जानकारी दिए ।

सरकारको यो निर्णयसँगै अब विद्यालय परिवर्तन गरी अध्ययन गरेका कक्षा १० का विद्यार्थीले सोही विद्यालयबाट परीक्षा दिन पाउने छन् । विगतमा विद्यार्थी स्थानान्तरण गरी परीक्षा दिने र त्यसकै माध्यमबाट परीक्षा उत्तीर्ण गराउने गतिविधि बढेपछि सरकारले कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीलाई स्थानान्तरणमा रोक लगाएको थियो ।

नियमावली संशोधन गरी राजपत्रमा छपाइका लागिसमेत पठाइसकिएको जनाइएको छ । सरकारको यो निर्णयसँगै एसईईमा विद्यार्थीले परीक्षा छाड्ने दर कम हुने अनुमान गरिएको छ । विद्यार्थीलाई परीक्षामा सहभागी हुन सहज होस् भनेर नै यस खालको प्रबन्ध गरिएको हो ।

नेपालमा २०७२ सालमा गएको विनाशकारी भूकम्पको वर्ष पनि सरकारले एसईईका विद्यार्थीलाई स्थानान्तरणको सुविधा दिएको थियो । भूकम्पबाट अति प्रभावित १४ जिल्लाका विद्यार्थीलाई मन्त्रिपरिषद्ले विशेष निर्णय गरी यस खालको सुविधा विद्यार्थीलाई दिइएको थियो तर यस पटक भने शिक्षा नियमावलीमा नै संशोधन गरिएको हो ।

प्रकाशित : २०७७ फाल्गुन ५, बुधबार ०७:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ