अब सगरमाथा क्षेत्रमा हेलिकप्टर अवतरण गर्न स्वीकृति लिनुपर्ने


काठमाडौं : सगरमाथा राष्ट्रिय निकुञ्‍ज क्षेत्रभित्र हेलिकप्टर अवतरण गर्न पूर्व स्वीकृत आवश्यक पर्ने भएको छ । सगरमाथा राष्ट्रिय निकुञ्‍ज कार्यालयले हेलिकप्टर अवतरणका लागि अग्रिम अनुमति लिनुपर्ने नियम बनाएको हो ।

कार्यालयले हेलिकप्टर कम्पनीहरुलाई पत्राचार गर्दै अवदेखि अनुमति लिएरमात्र उडान गर्नुपर्ने भनेको छ । यसअघि निषेधित क्षेत्रमा उडान गर्नका लागि मात्र अग्रिम अनुमति लिनुपर्ने व्यवस्था थियो ।

अनुमति नलिई कसैले सो क्षेत्रमा अवतरण गरेमा वन्यजन्तु संरक्षण सम्बन्धि कानूनअनुसार कारबाही हुने कार्यालयले चेतावनी दिएको छ । हेलिकप्टर कम्पनीहरुले अवदेखि  सगरमाथा राष्ट्रिय निकुञ्‍जको अनुमति लिएर तीनवटा हेलिप्याडमा मात्र अवतरण गर्न पाउने छन्। लुक्ला तथा स्यांगबोचे र नाम्चेका हेलिप्याडमा मात्र अवतरण गर्न दिने निकुञ्जले जानकारी दिएको छ ।

पुस २६ गते सिम्रिक एयरको हेलिकप्टर कालापत्थर क्षेत्रमा विना अनुमति अवतरण गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको लिखित सहमति तथा अनुमति विना छायांकन गरेको थियो । भारतको जी न्यूजका  सम्पादक सुधिर चौधरीको टोलीले उक्त क्षेत्रमा विना अनुमति छायांकन गरेको थियो ।

सोलुखुम्बु जिल्ला स्तरीय वन्यजन्तु अपराध नियन्त्रण इकाईको बैठकले सगरमाथा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र हेलिकप्टर अवतरण गर्दा निकुञ्जको पूर्व स्वीकृति लिनुपर्ने निर्णय गरेको निकुञ्जले काटेको पत्रमा उल्लेख गरिएको छ । उद्धार तथा आपतकालिन सामाग्री ढुवानीको हकमा भने अनुमति नलिइ पनि उडान गर्नसक्ने छन् ।

प्रकाशित : २०७७ फाल्गुन ६, बिहीबार २१:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ