जेलबाटै चिट्ठी लेखे रेशम चौधरी, भने- सरकारबारे पार्टीको निर्णयमा बाधक बन्दिनँ


काठमाडौं : डिल्लीबजार कारागारमा रहेका जसपाका सांसद रेशम चौधरीले पार्टी सरकारमा जाने/नजाने विषय पार्टीले लिने भन्दै त्यसमा आफू बाधक नबन्‍ने बताएका छन् ।

केपी ओली नेतृत्वको सरकारमा जाने विषयमा जसपा र एमालेबीच वार्ता चलिरहेका बेला आफू त्यसमा असहमत रहेको भन्ने किसिमले प्रचार भएको भन्दै चौधरीले त्यसमा सत्यता नरहेको दाबी गरेका छन् ।

बिहीबार कारगारबाट विज्ञप्ति निकाल्दै चौधरीले सरकारमा जाने या नजाने विषय पार्टीले टुंग्याउने र पार्टीको निर्णय अवज्ञा गर्नेबारे आफूले कल्पनासम्म नगर्ने बताएका छन् ।

‘सरकारमा सहभागी हुने/नहुने निर्णय मेरो एकल प्रयासले सम्भव हुने कुरा पनि होइन,’ उनको भनाइ छ,‘त्यो पार्टीको निर्णय होला । पार्टीले गर्ने निर्णयमा बाधक बन्ने कुराको म कल्पनासमेत गर्न सक्दिनँ ।’

सरकारमा जाने/नजाने विषयमा जसपाभित्र दुई खेमा छ । पूर्व राजपा पक्ष अहिलेको सरकारलाई समर्थन जनाएर जाने पक्षमा छ भने पूर्वसंघीय समाजवादी पार्टी पक्ष त्यसको विरोधमा छ । यसबारे चौधरीलाई जोडेर प्रचार भएपछि जसपाका नेता राजेन्द्र महतो बुधबार डिल्लीबजार कारागार पुगेका थिए।

सत्ता सहकार्यका लागि जसपाले कारागारमा रहेका चौधरीको रिहाइ हुनुपर्ने विषयलाई प्रमुख सर्त बनाएको छ ।

प्रकाशित : २०७७ चैत्र १२, बिहीबार १५:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ