यौन शिक्षा दिँदै मनाइन्छ फागु पर्व, लिङ्ग बोक्दा छोरा जन्मन्छ !


भक्तपुर : भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिरअगाडि भीमसेन मन्दिर रहेको छ । दत्तात्रयबाट गोल्मढीतर्फ जाँदा दाहिनेतर्फ रहेको उक्त मन्दिरको पाटीमा फागुन शुक्ल अष्टमीदेखि करिब दुई हात लामो र ३० इञ्च मोटाइको लिङ्गाकार काठ झुण्ड्याएको छ ।

लिङ्गाकार काठसँगै बीचमा प्वाल परेको रातो कपडा पनि झुण्ड्याएको छ । लिङ्गाकार काठको टुप्पोमा कपास राखिएको छ । हावाले रातो कपडा हलाउँदा वा मानिसले लिङ्गाकार काठलाई धकेल्दा कपडाको बीचमा रहेको प्वालमा लिङ्गाकार काठ छिर्ने गर्दछ ।

यसलाई स्थानीयहरु भीमसेन र द्रपौदीको यौन समागमको दृष्यका रुपमा लिन्छन् भने लिङ्गाकार काठमा झुण्ड्याइएको कपासलाई वीर्य झरेको दृष्यका रुपमा लिन्छन् । लिङ्ग र योनीको समागम गराउँदा कपास खस्ने गरी धकेल्नुपर्छ भनी स्थानीयहरू जिस्किन्छन् ।

फागु पुर्णिमाको एक साता अघिदेखि स्थानीयहरू द्रोपदीको योनीमा भीमसेनको लिङ्ग घचेटेर ढोग्ने गर्छन् । यसो गर्दा पारिवारिक आयस्रोत बढ्नुका साथै सुख, शान्ति र पारिवारिक मिलन बढ्ने विश्वास छ ।

झट्ट हेर्दा वा सुन्दा अश्लिल जस्तो लागे पनि भक्तपुरमा भने यो फागु संस्कृतिको महत्त्वपूर्ण पाटोको रुपमा रहेको छ। स्थानीय भाषामा ‘भिँसिद्यया लज्ज’ भनिने लिङ्गाकार काठलाई स्थानीयहरु भीमसेन देवताको लिङ्गको रुपमा लिन्छन्। प्वाल परेको रातो कपडालाई द्रोपदीको योनीको रुपमा लिइन्छ।

काठमाडौंको वसन्तपुरमा रंगीचंगी ध्वजासहितको चीर ठड्याएर फागु पर्व सुरु गर्ने परम्परा भए पनि भक्तपुरमा भने दत्तात्रय मन्दिरअगाडिको भीमसेन मन्दिरको पाटीमा काठको लिङ्ग र योनीको प्रतीक प्वाल परेको रातो कपडाको प्रदर्शनसँगै सुरु हुने परम्परा छ । सोहीअनुसार फागुन शुक्ल अष्टमीदेखि फागु पूर्णिमासम्म त्यसलाई प्रदर्शनीमा राखिन्छ । कतै कृष्णसँग र कतै प्रह्लादसँग सम्बन्धित रहने फागु पर्व भक्तपुरमा भने भीमसेन र द्रोपदीसँग सम्बन्धित रहेको छ ।

यौन समागमको प्रतीक काठको लिङ्ग र प्वाल परेको रातो कपडाको प्रदर्शनसँगै भीमसेन मन्दिरका गाइजुहरु मन्दिरको पाटीमा बसेर नेवारी फागु सम्बन्धी लोकभाका गाएर मनोरञ्जन लिने गर्दछन् ।

भिँसिद्यया लज्ज खङ लो वान ला,

बिस्यु वाने मायक स्व वया ला’

अर्थात् भीमसेनको लिङ्गदेखि मोह जाग्यो कि, भाग्नुपर्ने गरी हेर्न आएको हो कि।

अबिरया होली, तँचायला ल्यासे

अबिरँ छंगु ख्वा, हिसी दय्काबी

अर्थात् अबिरको होली रिसायौ कि तरुनी, अबिरले तिम्रो मुहार  हिसी बनाइदिउँ।

झ्या दकः तुँकः मा

व हे ल्यासे जित मा

व ल्यासे मदेकः जा हे मनया

अर्थात् झ्यालभरी तोरीको माला छ, त्यही तरुनी मलाई चाहिन्छ, त्यो तरुनी नपाएसम्म भातै खान्न।

लिङ्ग प्रदर्शनअघि भक्तपुरका इनाचो, बाचुटोल, जेँला, जगाती, ब्रह्मायणी, च्यामासिंह हुँदै तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर र पसलहरुमा बोकेर परिक्रमा गराइन्छ।  यसरी परिक्रमा गराउँदा स्थानीयहरुले पूजा गरी ढोग्ने र दान दक्षिणा दिने परम्परा छ। यसो गर्दा व्यापार फस्टाउने विश्वास छ।

फागुन शुक्ल अष्टमीका दिन लिङ्ग र योनीको समागम गर्नुलाई स्थानीय भाषामा ‘चीर स्वायगु’ भनिन्छ। यसको अर्थ गहिरो सम्बन्ध गाँस्ने भन्ने हुन्छ।

झट्ट हेर्दा यसले अश्लीलताको झलक दिए पनि तत्कालीन समयमा यौन शिक्षा दिने गरेको संस्कृतिविदहरु बताउँछन्। पौराणिक कालमा देवदेवीको समागमको नाम दिएर सन्तान जन्माउने कला सिकाएको उनीहरुको भनाइ रहेको छ।

वसन्त ऋतुको आगमनसँगै फागु पर्वलाई भक्तपुरमा सृष्टिलाई अभिप्रेरित गर्ने पर्वको रुपमा मनाइन्छ। यो समय कामदेव आफैँ सक्रिय हुने भएकाले सृष्टिका लागि मानव जीवनमा यो अति उपयुक्त समय हो भन्ने मुख्य सन्देश यसले दिएको संस्कृतिकर्मी हरिशरण राजोपाध्यायले बताउँछन्। चीर स्वायगु अर्थात् चीर गाड्ने कार्यलाई शिवशक्ति मिलनको रुपमा लिनुपर्ने राजोपाध्यायको भनाइ छ।

विशेषगरी माघ र फागुनमा विहावारीको महिना भएको र नवविवाहितहरूलाई समागम गर्ने तरिका सिकाइ यौन उमङ्ग जगाउने शिक्षा संस्कृतिमार्फत दिन खोजेको देखिन्छ। यसलाई विकृतिका रुपमा नभई सांस्कृतिक महत्त्वको मान्दै भीमसेन र द्रौपतीको यौन समागमका रुपमा संरक्षण गरिँदै आएको पाइन्छ। वसन्त ऋतुको आगमनसँगै फागु पर्वलाई भक्तपुरमा सृष्टिलाई अभिप्रेरित गर्ने पर्वको रुपमा मनाइन्छ। यो समय कामदेव आफैँ सक्रिय हुने भएकाले सृष्टिका लागि मानव जीवनमा यो अति उपयुक्त समय हो भन्ने मुख्य सन्देश यसले दिएको राजोपाध्यायको भनाइ छ।

नेवार समुदायमा फागु पर्वबारे अर्को कथन पनि छ। लोककथनअनुसार साथीहरुका साथ ल्हासामा व्यापार गर्न गएका सिंहसार्थवाह नामक एक व्यापारी र उनका साथीहरु नेपाल फर्कने क्रममा सिंहसार्थवाहका साथीहरु ल्हासाका राक्षसरुपी युवतीहरुको माया जालले नेपाल फर्कन नमानेपछि सिंहसार्थवाहले चिन्तित भएर भगवानलाई पुकार गर्दा भगवान स्वयं प्रकट भई सिंहसार्थका साथीहरुलाई राक्षसरुपी युवतीहरुबाट बचाएर नेपाल फर्काउन सफल भएकोमा अविर छरेर सिन्दुर जात्रा गरी खुशीयाली मनाई फागुपर्व मनाएको हो ।

फागु पूर्णिमाको दिन तचपालको भीमसेन मन्दिर र योसिंङखेलको परदेशी भीमसेन मन्दिरको प्राङ्गणमा अविर छरेर फागुपर्व मनाइने परम्परा छ । फागु पूर्णिमाको साँझपख लिङ्गलाई बोकेर ब्रह्मयणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखेपछि फागु पर्व सम्पन्न हुने परम्परा छ । यसरी लिङ्ग बोकेर जाने व्यक्तिको छोरा जन्मन्छ भन्ने जनश्रुति छ ।

थाहा खबर

प्रकाशित : २०७७ चैत्र १५, आईतवार ११:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ