कोरोना त्रास : वीरगन्जमा बैशाख २० गतेभित्रै परीक्षा सम्पन्न गरी विद्यालय बन्द गर्ने


वीरगन्ज । विभिन्न जिल्लाका विद्यार्थीहरुमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गर्ने निर्देशन दिएको छ ।

अन्तिम परीक्षा दिने समयमा विद्यालय बन्द गर्दा विद्यार्थीहरुको भविष्य अन्यौलमा पर्ने भएकाले तत्काल विद्यालय बन्द गर्नुपर्ने अवस्था नभएको कारण स्वास्थ्य मापदण्ड अपनाएर वीरगन्जका विद्यालयहरु सञ्चालन भइरहेका बताइएको छ ।

वीरगन्जमा सञ्चालित गौतम स्कुलका व्यवस्थापक रमेश शर्माले अहिले तत्काल विद्यालय बन्द गर्दा विद्यार्थीहरुको परीक्षा प्रभावित हुने बताए । उनले नेपाल सरकारले गरेको निर्णयलाई अटेरी पनि गर्न नसकिने र विद्यार्थीहरुको स्वास्थ्यसँग खेलबाड पनि गर्न नसकिने भएकाले चाँडो भन्दा चाँडो अन्तिम परीक्षा सकाएर विद्यालय बन्द गर्ने तयारीमा लागेको बताए ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्स) तथा एन प्याब्सन, वीरगन्ज महानगरपालिकालगायत सरकारी स्तरबाट हुने निर्णयलाई पालना पनि गर्नुपर्ने र विद्यालयहरुको भविष्यप्रति पनि ख्याल गर्नुपर्ने भएकाले वैशाख १५ गतेभित्र सम्पूर्णको परीक्षा सम्पन्न गरेर विद्यालय बन्द गरिने उनले बताए ।

वीरगन्ज महानगरपालिकाभित्र मात्रै प्याब्सन तथा ऐन प्याब्सन अन्तर्गत ९२ वटा निजी विद्यालयहरु सञ्चालनमा छन् । त्यस्तै, मंगलबार वीरगन्जस्थित त्रिजुद्ध स्कुलमा नगर स्तरीय परीक्षा समितिको बैठकले वैशाख २० गते परीक्षा सम्पन्न गरि सम्पूर्ण निजी तथा सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

जेठ ४ गतेदेखि सुरु हुने भनिएको कक्षा ८ को नगर स्तरीय अन्तिम परिक्षा पनि स्थगित गरेर वैशाख १२ गतेदेखि एकैपटक कक्षा १ देखि ९ सम्मको परीक्षा सञ्चालन गरेर विद्यालय बन्द गर्ने निर्णय गरिएको प्याब्सन पर्साका वीरगन्ज महानगर अध्यक्ष आलोक चौरसियाले जानकारी दिए ।

उनका अनुसार बढ्दो कोरोना भाइरस संक्रमण र त्यसले पार्न सक्ने प्रभावलाई ध्यानमा राख्दै वीरगन्ज महानगरपालिकाका सम्पूर्ण सामुदायिक र संस्थागत (बोर्डिङ) विद्यालयमा बैशाख १२ गतेदेखि सुरु भई २० गतेसम्म सम्पन्न गरेर विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

परीक्षा सञ्चालन गर्न अनिवार्य रुपले मास्क, सेनिटाइजरको प्रयोग, भौतिक दूरी कायम गरेर बस्ने व्यवस्था तथा परीक्षार्थी र शिक्षकको शरीरको तापक्रम नापेर मात्र परीक्षा हालभित्र प्रवेश गर्न दिने निर्णय भएको उनले बताए ।

त्यस्तै अहिले कक्षा सञ्चालन भइरहेका विद्यालयहरुलाई अनिवार्य रुपले विश्व स्वास्थ्य सङ्गठनको निर्देशन अनुसार स्वास्थ्य सुरक्षा मापदण्डहरु अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पालना नभएको पाइएको खण्डमा विद्यालयलाई कारवाही समेत गरिने निर्णय भएको छ ।

यता कोरोना संक्रमणका कारण विद्यालय बन्द गर्दा निजी विद्यालयमा कार्यरत शिक्षकहरुको तलब, भत्ताप्रति पनि सम्बन्धित निकायले ध्यान पु-याईदिनुपर्ने शिक्षक प्रेम गुरुङ्गले आग्रह गरे ।

साथै, विद्यालय बन्द गर्नु समस्याको समाधान नभएको तर, बन्द नै गर्नुपरे पनि अनलाइन कक्षा जस्ता विकल्प खोज्दै शिक्षकको तलबको पनि विकल्प खोज्नुपर्ने बताए ।

प्रकाशित : २०७८ बैशाख २, बिहीबार २०:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ