कोरोनाको दोस्रो लहर : पर्सा र बारामा १३ दिनमा ११ संक्रमितको मृत्यु


पर्सा : कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरू भएपछि पर्सा र बारामा १३ दिनभित्र ११ जनाको मृत्यु भइसकेको छ । शनिबार पनि गण्डक अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएसँगै गएको १३ दिनमा मृतकको संख्या ११ पुगेको हो ।

शनिबार मृत्यु भएका व्यक्ति वीरगञ्ज महानगरपालिका-१३ का ५३ वर्षीय पुरुष रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । चितवनको भरतपुरमा उपचारका क्रममा पर्साका एक पुरुषको मृत्यु भएको १२ दिन वित्न नपाउँदै बाराका दुई र बाँकी अन्य सबै पर्साका संक्रमितको निधन भएको नारायणी अस्पतालले जनाएको छ ।

संक्रमितमा रूघाखोकी लाग्ने, ज्वरो आउने लक्षण नभई फोक्सोमा नै कडा निमोनिया हुने गरेको कारण संक्रमितलाई बचाउन पनि नसकिने अवस्था आउन थालेको चिकित्सकहरू बताउँछन् । नारयाणी अस्पतालमा अहिले पनि ४० संक्रमित उपचाररत छन्। अब अस्पतालको क्षमताले भ्याउने अवस्था नभएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले बताए । उपचार गराइरहेकामध्ये आठजना गम्भीर रहेको उनको भनाइ छ । दोस्रो लहरको कोरोना पहिलेको जस्तो सामान्य नभएको डा. दास बताउँछन् ।

सामान्य अवस्था भएका संक्रमितहरूलाई भने अस्पतालमा भर्ना नगरी स्थानीय प्रशासन र स्थानीय तहहरूको समन्वयमा होम आइसोलेसनमा राखिएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए । शनिबारसम्म सकृय संक्रमित संख्या ५७७ रहेको जिल्ला प्रशासन कार्यालयको कोभिडतर्फ तथ्यांक अपडेट गरिरहहेका प्रशासकीय अधिकृत विनय श्रीवास्तले बताए ।

हटस्पट बन्ने खतरा

छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो लहर ह्वात्तै बढिरहेकाले खुला सीमा भएको मुलुकको प्रमुख नाका वीरगञ्ज क्षेत्रमा पनि अप्रत्यासित कोरोनाका संक्रमित बढिरहेका छन् । यसले पनि थप जोखिम निम्तिने खतरा रहेको डा. दासले बताए । सीमापारिबाट आउनेको कमी नहुनु र सीमामा राखिएको हेल्थ डेक्सले धान्न नसक्ने गरी मानिस भित्रिंदा जोखिम भयावह हुने खतरा रहेको उनले बताए ।

शनिबार आएको पछिल्लो २४ घण्टाको विवरणमा नारायणी अस्पतालमा १४० जनाको परीक्षण गर्दा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितहरू ५ देखि ७७ वर्ष उमेर समूहका छन् । पर्सामा सकृय संक्रमित संख्या ५७७ पुगेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।

संक्रमित हुने युवा बढी

नारायणी अस्पतालको प्रयोगशालामा भइरहेको परीक्षणमा संक्रमित भेटिएकामध्ये ४०–४५ वर्षभन्दा कम उमेरका बढी छन् । संक्रमितहरूको सिटी भ्यालु १४ देखि ३५ सम्म रहेको अस्पतालले जनाएको छ ।

संक्रमितहरूमा कडा खालको निमोनिया र झाडापखालाको लक्षण छ । यस्तो अवस्थामा भिडभाडमा सकेसम्म नजाने, फेसमास्क प्रयोग गर्ने र स्थानीय प्रशासनले पनि लकडाउन वा सेमी लकडाउन गरी करिब दुई साता परीक्षणको दायरा बढाउन सके केही जटिल अवस्थाबाट बच्न सकिने डा. दासको सुझाव छ ।

दैनिक जसो नयाँ संक्रमित थपिने र मृत्यु हुने क्रम अप्रत्यासित बढे पनि वीरगञ्ज महानगरपालिकाभित्रका सबै किसिमका शैक्षिक संस्थाहरू खुला नै छन् । बजारमा सर्बसाधारणको भिडमा पनि उत्तिकै छ । महानगर क्षेत्रका कक्षा ५ भन्दा मुनिका विद्यालय भने बन्द छन् ।

प्रकाशित : २०७८ बैशाख १२, आईतवार ०७:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ