प्रश्नपत्र आउट गरेका पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीसहित १० जना पक्राउ


विराटनगर । पैसाको लोभमा परीक्षा अगावै प्रश्नपत्र आउट गरेको अभियोगमा प्रहरीले पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीसहित १० जनालाई पक्राउ गरेको छ ।

प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा एक जना कर्मचारी र ९ जना विद्यार्थीलाई पक्राउ गरेको हो । मोरङ प्रहरीले ८ जना विद्यार्थीहरूलाई काठमाडौंदेखि शनिबार राति पक्राउ गरि ल्याएको छ भने अन्य दुई जनालाई विराटनगरमै पक्राउ गरेको हो । यस घटनामा मोरङ प्रहरीले ८ वैशाखमा सप्तरी घर भएका महेश यादवलाई पक्राउ गरि ‘शिक्षा ऐन’ अनुसार म्याद थप गरि अनुसन्धान गर्दै आएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ संकायको स्नातक दोस्रो सेमिस्टरको फिजिक्सको परीक्षा हुनुभन्दा दुई घन्टाअघि प्रश्नपत्र बाहिरिएको थियो । बैशाख ३ गते १ बजेदेखि हुने फिजिक्सको परीक्षा अघि ११ बजे नै प्रश्नपत्र आउट भएको थियो ।

परीक्षाअघि प्रश्न पत्र सार्वजनिक भएपछि परीक्षा नियन्त्रक कार्यालयका प्रमुख प्रा। डा सूर्यप्रसाद संग्रौलाले तत्काल अर्को प्रश्नपत्र बनाएर परीक्षा लिएका थिए । प्रश्नपत्र आउट भएपछि अनुसन्धान गर्न मोरङ प्रहरीमा निवेदन दर्ता गराएका थिए ।

मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काका अनुसार नौ जनालाई घटनामा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको छ । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार प्रश्नपत्र आउट गर्ने कर्मचारीलाई प्रत्येक विद्यार्थीहरूले १० देखि २० हजारभन्दा बढी रकम दिएको खुलेको छ ।

‘प्रश्नपत्र आउट गराउने कर्मचारीलाई प्रत्येक विद्यार्थीले मोटो रकम दिने गरेको खुलेको छ,’ एक प्रहरी अधिकारीले भने, ‘प्रश्नपत्र आउट गराउने गिरोहका नाइकेले विद्यार्थीहरूसँग पैसा उठाउने र कर्मचारीलाई दिने गरेको पाइयो ।’

पूर्वाञ्चल विश्वविद्यालयले लिने हरेक प्राविधिक विषयको प्रश्नपत्र परीक्षा पहिला नै शृङ्खलाबद्ध रूपमा बाहिरिँदै आएको छ । दुई वर्ष अगाडि पनि कर्मचारीको मिलेमतोमा प्रश्नपत्र आउट भएको थियो । त्यस बेलाको घटना अनुसन्धान नभइ गुपचुप भएको थियो ।

यसरी पूर्वाञ्चल विश्वविद्यालयले लिने परीक्षाको प्रश्नपत्र बाहिर पुर्‍याउन परीक्षाको गोप्य शाखाका कर्मचारीको हात हुन सक्ने विश्वविद्यालय स्रोतको दाबी छ ।

प्रश्नपत्र छाप्ने कार्यमा गोप्य शाखाका कर्मचारी संलग्न हुने भएकाले उनीहरूकै माध्यमबाट बाहिरिने गरेको स्रोतको भनाइ छ । अहिले इन्जिनियरिङ संकायको स्नातकको चौथो, छैठौं र आठौं तहको फाइनल परीक्षा भइरहेको छ ।

प्रकाशित : २०७८ बैशाख १२, आईतवार १६:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ