बैठक बोलाउने विषयमै जसपाका शीर्ष नेताबीच विवाद


काठमाडौं : सरकारलाई समर्थन गर्ने या नगर्ने भन्ने विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)का नेताबीच छलफल भएको छ ।

आज मंगलबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शीर्ष नेताहरू अनौपचारिक छलफलमा जुटेका थिए । आज बसेको शीर्ष नेताहरूको छलफलमा जसपाका संघीय परिषद्‍ अध्यक्ष डा।बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताहरू राजेन्द्र महतो र अशोक राई सहभागी थिए ।

‘आज शीर्ष नेताहरुबीच अनौपचारिक छलफल भएको थियो,’ जसपाका एक नेताले इकागजसँग भने, ‘छलफलमा पार्टीको कार्यकारिणी समितिको बैठक बोलाउने विषयमा केन्द्रीत भयो । तर, बैठक बोलाउने र नबोलाउने भन्ने विषयमा विवाद हुँदा बैठकको टुंगो लागेन ।’

छलफलमा भट्टराई र यादवले कार्यकारिणी बैठक बोलाउनुपर्ने विषय उठाए पनि महन्थ ठाकुरले कोभिड संक्रमणको जोखिम रहेको भन्दै बैठक बस्न नहुने बताएको ति नेताले बताए ।

नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर आफ्नै नेतृत्वमा सरकार गठनको प्रस्ताव गरे पनि जसपाले आफ्नो आधिकारिक धारणा अझै सार्वजनिक गरेको छैन ।

जसपाका ठाकुर र महतो केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन जनाउने तयारीमा छन् । तर, भट्टराई र यादव भने ओली नेतृत्वको सरकारलाई समर्थन गर्न नहुने बताउँदै आएका छन् ।

प्रकाशित : 27 April 2021 3:22 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ