प्रदेश २ : सीमामा रोकिएन तस्करी, अवैध सामानसँगै हतियार पनि ओसारपसार


जनकपुर : भारतसँग जोडिएकाले सीमा वारपार हुने तस्करी र अपराधको जालोमा प्रदेश २ का आठ वटै जिल्ला डरलाग्दो अवस्थामा जेलिएका छन् । खुला सीमाको फाइदा उठाउँदै ‘जे–पनि’ वारिपारि गर्ने कारोबारीले सामानको तस्करीसँगै हातहतियारको पनि ओसारपसार गर्दै आएका हुन्  ।

सीमामा तस्करी र अपराध रोकथामका लागि खटिएको सशस्त्र प्रहरीले पछिल्लो ६ महिनामा ठूलो परिमाणमा तस्करीका सामान र अपराध कर्ममा प्रयोग हुने हतियार बरामद गरेको छ । कोरोना भाइरसका कारण सिल गरिएको सीमा खुकुलो पारिए लगत्तै तस्करहरू सल्बलाएका देखिन्छन् ।

सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनीका प्रमुख डीआईजी चन्द्रप्रकाश गौतमका अनुसार पछिल्लो ६ महिनामा तस्करीका समान धमाधम बरामद गर्न थालिएपछि अवैध कारोबारीहरू प्रदेश २ को नाकाबाट विस्थापित भएको दाबी गरे ।

सशस्त्र प्रहरीको तथ्यांकअनुसार मंसिर १५ देखि वैशाख १२ गतेसम्म करिब १९ करोड ९३ लाख ५१ हजार रुपैयाँको अवैध सामान बरामद गरिएको छ । हरेक महिना तस्करीका समान बरामद भएको तथ्यांक बढ्दो छ ।

मंसिर १५ गतेयता सशस्त्र प्रहरीले प्रदेश २ मा १ करोड ३७ लाख ३८ हजारको अबैध समान बरामद गर्‍यो भने पुसमा ३ करोड ७ लाख ७३ हजार, माघमा ३ करोड ४५ लाख ५३ हजार, फागुनमा ४ करोड ३० लाख ७३ हजार र चैतमा बभन्दा बढी ५ करोड १८ लाख ७६ हजार रुपैयाँ वरावरको अबैध समान बरामद गरेको हो ।

‘नाकामा तस्करकेन्द्रित निगरानी बढाएपछि चोरी–निकासी हुने समान ठूलो परिमाणमा बरामद भइरहेको छ,’ डीआईजी गौतमले भने, ‘प्रदेश २ का लागि तस्करी टाउँको दुखाइ थियो । धेरै हदसम्म जालो भत्काइएको छ ।’

प्रदेशमा समानको तस्करीसँगै हातहतियारको ओसारपसार पनि डरलाग्दो छ । सशस्त्र प्रहरीकै तथ्यांकअनुसार पछिल्लो ६ महिनामा ८ वटा पेस्तोल र ९ वटा राउन्ड र म्यागजिन बरामद गरिएको छ । भारतबाट नेपालतिर ल्याएको कटुवा पेस्तोल ६ थान र लोडेड सेमिअटोमेटिक पेस्तोल २ थान बरामद गरेको छ ।

सशस्त्र प्रहरी स्रोतका अनुसार वारिपारि हुने आपराधिक वारदातमा यस्तै लुकीछिपी ल्याइने हतियारको प्रयोग बढ्दो छ । यस्तै, ६ महिनाको अवधिमा ठूलो परिमाणमा सशस्त्र प्रहरीले लागूऔषध बरामद गरेको छ ।

लागूऔषध पारिबाट वारि र मदिरा वारिबाट पारि गर्ने गिरोह नै सक्रिय छ । भारत, विहारमा मदिरा र नेपालमा लागूऔषध प्रतिबन्ध छ । ६ महिनामा करिब २ सय ८९ केजी गाँजा, नर्फिन, डाइजोपाम, फेनार्गन, कोरेक्स, चरेस, ब्राउन सुगर लगायतका अति घातक लागूऔषध सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरीले लागूऔषध र हातहितयार ओसारपसारमा संलग्न १ सय २९ जनालाई यो अवधिमा पक्राउ पनि गरेको छ । लागूऔषध र हातहतियारको कारोबार गर्ने ६ जनालाई मंसिरमा, २२ जनालाई पुसमा, ३२ जनालाई माघमा, ३८ जनालाई फागुनमा, २३ जनालाई चैतमा र ८ जनालाई वैशाखमा पक्राउ गरिएको सशस्त्र प्रहरी छिनमन्ता बाहिनी, बर्दिवासले जनाएको छ ।

नाकामा कडाइ गरिएपछि भने सुनचाँदीको तस्करी अहिले ठप्प छ । गतवर्ष, सशस्त्र प्रहरीले लगालग ठूलो परिमाणमा सुनचाँदी बरामद गरेपछि त्यसको अवैध कारोबार गर्नेहरू हच्केका छन् । सशस्त्र प्रहरीले ६ महिनाको अवधिमा करिब ३ किलो चाँदी भने बरामद गरेको छ ।

स्रोत नखुलेको रुपैयाँको कारोबार पनि सीमावर्ती क्षेत्रमा फस्टाएको छ । सशस्त्र प्रहरीले ६ महिनाको अवधिमा ७४ लाख १५ हजार २ सय ५२ रुपैयाँ स्रोत नखुलेको बरामद गरेको जनाएको छ ।

मंसिरमा १ लाख ६४ हजार २ सय ७० भारतीय रुपैयाँ, पुसमा ७ लाख ३३ हजार भारतीय रुपैयाँ र माघमा ५ हजार स्रोत नखुलेको भारतीय रुपैयाँ सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रबाट बरामद गरेको हो ।

सशस्त्र प्रहरीले ६ महिनाको अवधिमा ठूलो परिमाणमा पशुचौपाया पनि बरामद गरेको छ । यो अवधिमा कबि ९४ लाख १३ हजार ३ सय २० रुपैयाँको पशुचौपाय बरामद गरेर सशस्त्र प्रहरीले सम्बन्धित निकायलाई बुझाएको छ ।

– ईकान्तिपुरबाट

प्रकाशित : २०७८ बैशाख १८, शनिबार १४:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ