सांसदहरु र प्रहरीबीच झडप चलिरहेका बेला मुख्यमन्त्रीको शपथ लिए पोखरेल


बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख धर्मनाथ यादव आफ्नै कार्यालयमा धर्ना बसेका विपक्षी सांसदहरुको घेरो तोडेर मुख्यमन्त्रीको कार्यालय पुगी पोखरेललाई शपथ खुवाएका हुन् ।

यस अघि यादव कार्यालयबाट निस्कँदा विपक्षी सांसदले घेरा हालेर छेकेका थिए । त्यसपछि प्रहरीले बल प्रयोग गरेर सांसदहरुको घेराबाट प्रदेश प्रमुखलाई निकालेको थियो । 

अल्पमतमा परेका मुख्यमन्त्री शंकर पोखरेललाई शपथ नखुवाउन माग गर्दै एमाले बाहेक दलका सांसदहरु दिउँसैदेखि प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए । 

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त भएका हुन् । आज बिहान मात्रै मुख्यमन्त्री पदबाट राजीनामा दिएका पोखरेल संविधानको धारा १६८ (१) बमोजिम पुन मुख्यमन्त्री बनेका हुन् । उनलाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने भएपछि पोखरेलले पदबाट राजीनामा दिएका थिए । यसअघि पोखरेल नेतृत्वको सरकार संविधानको धारा १६८ (२) बमोजिम बनेको थियो ।

धारा १६८(१) मा संसदमा बहुमत प्राप्त दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्थालाई आधार मानेर पोखरेलले आज बिहान राजीनामा दिएका थिए ।  पोखरेल अल्पमतमा परिसकेका छन् ।   

प्रकाशित : २०७८ बैशाख १९, आईतवार २०:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ