कोरोना विशेष : मृतकको लाशबाट भाइरस सर्छ कि सर्दैन ? थाहा पाउनुस्


काठमाडौं : कोभिड–१९ को बिरामीको अन्तिम समय आएका बेला एउटा कठोर दृश्य देखिने गरेको छ । त्यस बेला उनीहरूको मृत्युमा शोक व्यक्त गर्ने आफन्तहरू साथमा हुँदैनन् ।

ती दृश्यहरूले केवल मृत्युको मात्र होइन मृतकसँग पनि त्रास पैदा गरिरहेका छन् । त्यसले पोस्टमोर्टमबाट रोग फैलन सक्ने आशङ्का र सङ्क्रमितको शरीरबाट भाइरस सर्न सक्ने सम्भावनाको डर पैदा गरिदिएको छ ।

के मृतकको शरीरले कोभिड–१९ फैलाउन सक्छ ? अन्तिम संस्कार गर्नु सुरक्षित छ कि छैन ? अनि शवलाई जलाउनु उचित कि गाड्नु ?

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का अनुसार यदि आवश्यक सावधानी अपनाइएको छ भने मृतकको शरीरबाट कोभिड-१९ सर्छ भनेर डराउनुपर्ने कुनै कारण छैन ।

यो रोग लगाउने सार्स–कोभ–२ भाइरस विशेषगरी मानिसहरूले निकाल्ने थुक वा र्‍याल जस्ता कुराका छिटाहरूबाट सर्छ । बोल्दा, हाच्छिउँ गर्दा वा खोक्दा यस्ता छिटाहरू निस्कन्छन् ।

अनि कतिपय कडा सतहहरूमा यी भाइरस केही दिनसम्म जीवित रहन सक्छन् । ‘आजका दिनसम्म मृतकको शरीरबाट जीवित मान्छेमा यो भाइरस सरेको कुनै पनि प्रमाण भेटिएको छैन,’ पान-अमेरिकन हेल्थ अर्गनाइजेशनका एक प्रवक्ता विलियम अडुक्रोले भने ।

मृतकको शरीरमा भाइरस बाँच्न सक्छ ?

‘त्यसो भन्दैमा हामीले यो सर्दैन भन्न खोजेका होइनौँ । तपाईँ मृतकलाई एकदमै प्रेम गर्नुहुन्छ त्यसैले चुम्बन गर्न वा अन्य त्यस्तै गर्न चाहनुहुन्छ । हामीले अझै पनि रोकथाम र नियन्त्रणको अभ्यास गर्नुपर्छ,’ उनले भने ।

डब्ल्यूएचओले २०२० मार्चमा जारी गरेको एउटा निर्देशिकामा रक्तस्राव हुनेखालका ज्वरोहरू (इबोलाजस्ता) र हैजालाई छाडेर आम रूपमा मृतकको शरीरबाट सङ्क्रमण नहुने उल्लेख छ ।

त्यसमा भनिएको छ, ‘यदि महामारीयुक्त इन्फ्लूएन्जा भएर मृत्यु भएकाहरूको फोक्सोलाई चिरफारका बेला सही तरिकाले सम्हालिएन भने रोग सर्न सक्छ । अन्यथा शवबाट रोग सर्दैन ।’

तर कडा खाले श्वासप्रश्वाससम्बन्धी रोगबाट मृत्यु भएकाहरूको फोक्सो र अन्य अङ्गहरूले भाइरसका लागि आश्रयस्थलको काम गरेका हुन सक्छन् ।

चिरफारका बेला ती भाइरसहरू बाहिर आउन सक्छन् । त्यसमा प्रयोग भएका उपकरणहरूमा पनि ती बस्न सक्छन् ।

कोभिड–१९ लागेर ज्यान गएकाहरूका मृतकका आफन्त र साथीहरुले के विचार गर्नु जरुरी छ भने शव गाड्ने वा जलाउने कार्य सुरक्षित रूपमा व्यावसायिक मानिसहरूबाट गरिएको हुनुपर्छ ।

के हामी अन्तिम संस्कारमा जान सक्छौँ ?

केही स्थानमा कोभिड-१९ का कारण लगातार मृतकको सङ्ख्या बढ्दा अन्तिम संस्कारमा सङ्कट पैदा भएको छ । सामाजिक दूरी कामय गर्नुपर्ने भएकाले कैयौँ देशहरूमा अन्तिम संस्कार बन्द गरिएको छ । अन्यत्र अनुमति त दिइएका छन् तर सीमित सङ्ख्यामा मात्र मानिसहरू सहभागी हुन पाउँछन् ।

बीबीसी

प्रकाशित : २०७८ बैशाख २३, बिहीबार ११:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ