प्रधानमन्त्रीले विश्वासको मत माग्नु नै गलत : उपेन्द्र यादव


काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत माग्नु नै गलत भएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै यादवले विगतमा आफैंले विघटन गरेको संसदमा विश्वासको मत माग्नु प्रधानमन्त्रीको कमजोरी भएको बताए ।

‘प्रधानमन्त्रीले सहमति गर्नुहुन्छ तर कार्यान्वयन नगरी विश्वासघात गर्नुहुन्छ । जुन संसदलाई असंवैधानिक ढंगले विघटन गर्नुभयो त्यही संसदमा विश्वासको मत माग्दै हुनुहुन्छ । जुन संसदमा तपाईको आफ्नै विश्वास छैन त्यो संसदले तपाईलाई किन विश्वासको मत दिने ?’, यादवले प्रश्न गरे ।

प्रधानमन्त्री ओलीले मधेसका जनताप्रति अपमान गरेको र विगतमा गरेका सहमति कार्यान्वयन नगरेको यादवले आरोप लगाए ।

‘हिजो मधेस आन्दोलनमा मधेसी जनता मारिँदा २-४ आँप झरेर केही हुँदैन भन्ने प्रधानमन्त्रीले अहिले त्यही आँप खुवाएर मधेसीलाई फकाउन खोज्नुभएको छ’, यादवले भने ।

संसदीय मूल्य मान्यताविपरीत अध्यादेशका भरमा शासन गर्न खोजेकोले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसकिने बताए ।

प्रकाशित : २०७८ बैशाख २७, सोमबार १६:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ