कोरोना कहरकै बेला मध्यरातमा बढायो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौं : कोरोना महामारीमै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको जिकिर गर्दै महामारीमै मूल्य बढाएको हो । सरकारकै सहमतिमा निगमले महामारीमै तेलको मूल्य बढाएको हो ।

निगम व्यवस्थापनलाई मूल्य बढाउने अधिकार भएपनि यस्तो महामारीमा तालुकदार मन्त्रालय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई जानकारी गराएर मूल्य बढाउने गरिन्छ । निगमको बोर्डमा वाणिज्य सचिव अध्यक्ष रहने प्रावधान छ । मूल्य बढाउनु अघि एक पटक मन्त्रीलाई सोध्ने चलन छ ।

‘सामान्य समयमा समेत एक पटक मन्त्रीलाई सोध्ने चलन छ। यो महामारीमा नसोध्ने कुरै छैन,’ निगमका एक अधिकारीले भने, ‘मन्त्रीको सहमतिमै मूल्य बढाइएको हो ।’ महामारीमा तेलको मूल्य बढाएर सरकारले जनतालाई आहत बनाएको उपभोक्ताकर्मी माधब तिमिल्सिना बताउँछन् ।

‘अहिले देशको परिस्थितीनै फरक छ। जनता अक्सिजन नपाएर छटपटाइरहेका छन् । आफ्नो मोटरसाइकल र गाडी लिएर जनता अस्पताल चाहरिरहेका बेला मूल्य बढाउनु दुर्भाग्यपूर्ण निर्णय हो,’ उनले भने, ‘अहिलेनै खाद्यान्न उद्योगीले कोभिडलाई देखाउँदै मूल्य बढाएका छन् । सरकारले इन्धनको मूल्य बढाएपछि प्रत्यक्ष रुपमा थप मूल्य बढाउन बाटो खुल्यो । सरकारले जनतामाथि राहतको साटो आहत दिने काम गर्‍यो ।’

निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनको मूल्य लिटरमै दुई रुपैयाँ बढाएको हो । यो मूल्य वृद्धिसँगै पेट्रोल लिटरको १ सय २३ रुपैयाँ र डिजल तथा मट्टितेल १ सय ६ रुपैयाँ मूल्य कायम भएको छ । आन्तरिक तर्फको हवाई इन्धन ७८ रुपैयाँ पुगेको छ । निगमले खाना पकाउने ग्यास र अन्तर्राष्ट्रियतर्फ उडान गर्ने जहाजले हाल्ने इन्धनको मूल्य भने यथावत राखेको छ ।

निषेधाज्ञाका कारण अहिले पेट्रोलियम पदार्थको माग छैन् । ७३ जिल्लामा निषेधाज्ञा लागेकोले सवारी साधन, उद्योग व्यवसाय, होटल तथा रेष्टुरेन्ट बन्द छ । अत्यावश्यक सवारी साधन, औषधि, अक्सिजन र खाद्यान्न उद्योग वाहेक अरु बन्द नैे छन् ।

निगमका अनुसार यो मूल्य वृद्धिपछि पनि पेट्रोलमा ८ रुपैयाँ ५६ पैसा र डिजलमा ४ रुपैयाँ ४६ पैसा नोक्सान रहेको दाबी गरेको छ । निगमले ग्यास एक सिलिण्डरमा ३ सय ७५ रुपैयाँ १३ पैसा घाटा रहेको जनाएको छ ।

प्रकाशित : २०७८ जेष्ठ ३, सोमबार ०७:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ