जनकपुर : कोरोना अस्पतालको मूलढोकामै फोहरको थुप्रो


जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरधामले सञ्चालन गरेको कोभिड–१९ अस्पताल परिसरमा फोहरको थुप्रो रहेको छ । संक्रमित तथा चिकित्सकले प्रयोग गरेको फोहर अस्पतालको परिसरमै थुपारिएको हो ।

अति संवेदनशील मानिने कोभिड अस्पतालको मूलढोकामै चिकित्सकले प्रयोग गरेको पीपीई, पञ्जा, मास्क, फेससिल्ड, स्यानिटाइजरको खाली बोतल, खानेपानीको खाली बोतल, संक्रमितहरुले खाएको खाजाको प्लास्टिक र बोटी क्यापसहितको फोहर फालिएको हो ।

मधेस स्वास्थ्य विज्ञानअन्तर्गत प्रदेश सरकारले सञ्चालन गरेको अस्पतालमा फोहरको उचित व्यवस्थापन नहुँदा संक्रमित र बिरामी कुरुवा थप क्रसित भएका छन् । तर, अस्पतालभित्रको कमजोरी बाहिर ल्याए आफ्नो बिरामीको हेरचाहमा वास्ता नगर्ने डरले कोही पनि बोल्न मानेका छैनन् ।

लक्ष्मीनियाँ गाउँपालिका–४ का एक बिरामीका कुरुवाले बाहिरभन्दा भित्रको अवस्था बिजोग रहेको बताए । उनका अनुसार अस्पताल परिसरको फोहर एक सातामा जलाएर नष्ट गर्ने गरिए पनि भित्र संक्रमितले प्रयोग गरेका शौचालय र फोहर लामो समयदेखि सफा भएको छैन ।

‘कोरोना संक्रमितको कोठा–कोठामा फोहर फाल्न बाल्टिन राखिएको छ,’ उनले भने, ‘एक हप्तापछि फोहर संक्रमितको कोठाभन्दा बाहिर परिसरमै ल्याएर थुपारीदिन्छन् ।’ संक्रमितको कोठामा हेरचाह गर्न कुरुवा नै जानुपरेको उनको भनाइ छ ।

‘बिरामी कुरुवाले बाहिरबाट ल्याएको खानेकुरा पनि आफैँ लिएर संक्रमितको कोठामा जानुपर्छ,’ उनले भने, ‘यसले कोरोना नियन्त्रणको साटो फैलिन सक्छ ।’ यसबारेमा बुझ्न खोज्दा प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोदकुमार यादवसँग सम्पर्क हुन सकेन । – बारह्खरी

प्रकाशित : २०७८ जेष्ठ ८, शनिबार १७:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ