आँखा बिगार्ने घातक कालो ढुसी दर्जनौं मानिसमा पुष्टि, WHO सँग औषधि माग


गनी अन्सारी, बीबीसी : कोभिड १९ भएका बिरामीमा आँखा बिगार्ने म्यूकोर्माइकोसिस अर्थात्‌ एक प्रकारको कालो ढुसीको सङ्क्रमण नेपालमा अहिलेसम्म झन्डै एक दर्जन मानिसमा पुष्टि भएको विवरण आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ताले बीबीसीलाई बताएका छन् ।

दश दिनअघि मन्त्रालयले तीन/चार जनामा उक्त घातक कालो ढुसीको सङ्क्रमण देखिएको बताएको थियो । ‘विभिन्न ठाउँबाट गरी अहिलेसम्म हामीकहाँ म्यूकोर्माइकोसिसका करिब १२ वटा रिपोर्टिङ भएका छन्,’ नवनियुक्त प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले सोमवार भने ।

उनका अनुसार वीरगन्ज, नेपालगन्ज र काठमाण्डूलगायत ठाउँका अस्पतालबाट कालो ढुसीको सङ्क्रमणका विवरणहरू आएका हुन् । भारतमा ‘ब्ल्याक फङ्गस’ अर्थात्‌ कालो ढुसीबाट हजारौँ मानिस सङ्क्रमित भएको विवरण सार्वजनिक भएका छन् । केही दिनअघि उत्तर प्रदेशका एउटै बिरामीमा ब्ल्याक फङ्गस, ह्वाइट फङ्गस र येलो फङ्गसको विरल सङ्क्रमण देखिएको बीबीसी हिन्दीले जनाएको थियो ।

प्रवक्ता पौडेलका अनुसार नेपालमा सुरुमा सीमावर्ती सहर वीरगन्जबाट कालो ढुसीको सङ्क्रमणबारे मन्त्रालयलाई रिपोर्ट गरिएको थियो । त्यसयता निगरानी थालेको मन्त्रालयले उक्त ढुसीको सङ्क्रमण रोकथाम तथा उपचारबारे प्रोटोकल बनाएर सार्वजनिक गर्ने क्रममा रहेको उनले बताए । नाक, कान, घाँटीसम्बन्धी नेपालका विशेषज्ञ चिकित्सकहरूको सङ्गठनले भने रोकथाम र व्यवस्थापनसम्बन्धी एउटा एड्भाइजरी प्रकाशित गरिसकेको छ ।

‘विशेषज्ञ चिकित्सकहरूको एउटा कोर टीम बनाएर हामीले प्रीभेन्शन (रोकथाम) र ट्रीट्मन्ट (उपचार)बारे प्रोटोकल नै बनाएका छौँ र त्यसलाई सर्भेलन्समा राख्ने भनेका छौँ’, डा. पौडेलले थपे ।चिकित्सकहरूका अनुसार कालो ढुसीबाट सङ्क्रमितको उपचारमा मुख्यतया एम्फोटेरिसिन बी औषधिको प्रयोग गर्ने गरिएको छ । नेपालमा त्यो औषधिको प्रयोग कालाजारको उपचारमा हुँदै आएको छ।

अहिलेसम्म बजारमा उपलब्धबाट काम चलाइँदै आएको भए पनि पछिल्लो समय भारतले निर्यातमा रोक लगाइदिएपछि समस्या देखिएको प्रवक्ता पौडेलले उल्लेख गरे । त्यो औषधिको उपलब्धता अहिले पनि चुनौतीपूर्ण नै छ । हामीसँग अलि कम नै छ। हामीले डब्ल्यूएचओको संयन्त्रबाट माग गरेका छौँ । जुन महिनाको २ तारिखसम्म आइपुग्ने कुरा छ । ‘हाललाई पहिलो खेपमा हामीले ३,००० भाएल माग गरेका छौँ,’ प्रवक्ता पौडेलले भने।

प्रकाशित : २०७८ जेष्ठ १७, सोमबार १६:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ