प्रदेश २ : दलित विकास समितिका उपाध्यक्ष बैठा प्रहरीको फरार सूचीमा, निकाले यस्तो विज्ञप्ती


जनकपुरधाम : आफैं नेपाल प्रहरीको फरार सूचीमा रहेका प्रदेश २ का दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाले एक युवतीमाथि शोषण र विभेद भएको भन्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।

‘सर्लाहीको विष्णु गाउँपालिका ७ की एक किशोरीलाई विभिन्न किसिमका प्रलोभन एवं सपनाहरु देखाई जालझेल गरी स्थानीय शिव कुमार यादव र उनका परिवारले सामाजिक एवं कानूनी अपराध गरेको छ’, उपाध्यक्ष बैठाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यस घटनामा देखिएका पीडित पक्षलाई न्याय एवं पीडक पक्षलाई कडा भन्दा कडा कानूनी कारबाहीको माग गर्दछौं ।’

बैठालाई ०७७ फागुन ६ मै प्रदेश सरकारले दलित विकास समितिको उपाध्यक्षमा नियुक्त गरे । नियुक्त पाएर शपथग्रहण गरेको झण्डै चार महिना वित्न लाग्दा यस प्रदेशमा कैयौं महिला अन्यायमा परेकी छन् । तर आफ्नै जिल्ला सर्लाहीको घटना भएकाले उनी पहिलो पटक विज्ञप्ती निकालेका हुन् ।

उनले विज्ञप्तीमा घटनामा हुने कुनै पनि किसिमको ढिलासुस्ति एवं लापरबाही सहन गर्ने छैन भन्दै पीडितले उचित न्याय नपाए कडा भन्दा कडा संघर्ष गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् । विज्ञप्तीमा आन्दोलनको धम्की दिने उपाध्यक्ष बैठा भने स्वयंम अभियुक्त रहेको प्रहरीले जनाएको छ ।

बैठामाथि ईलाका प्रहरी कार्यालय लहान, सिरहामा अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता रहेको पाइएको छ । उनीमाथि जनता समाजवादी पार्टीकै नेतृ ललिता दासले मुद्दा दर्ता गराएकी हुन् । बैठाले सामाजिक सञ्जाल फेसबुकमा अभद्र व्यहार गरेको नेतृ दासले आरोप लगाएकी छन् ।

०७७ चैत ९ गते राति ११ बजे फेसबुकमा अभद्र गालीगलौज गरेको भन्दै नेतृ दासले बैठामाथि प्रहरीमा मुद्दा दर्ता गराएकी छन् । नेतृ दासले अवैध सम्बन्ध राख्न दबाब दिएको र नमानेपछि गाली गलौज गर्दा पतिबीचको दाम्पत्य जिवनलाई नै धरापमा पारेकाले बैठालाई पक्राउ गरी कानून बमोजिम कडा कारबाहीको माग गरेको बुझिएको छ ।

ईलाका प्रहरी कार्यालय लहानका डिएसपी तपन दाहालले कोरोना महामारीका कारण बैठालाई तत्काल पक्राउ गर्न नपाएको बताए । उनले भने, ‘कोरोनाको जोखिम घटेलगत्तै बैठालाई समात्न चाँडै सर्लाही प्रहरीलाई पत्राचार गर्छौ ।’ बैठालाई भने प्रदेश सरकारको संरक्षणमा खुलेयाम जनकपुरमा घुमिरहेका छन् ।

प्रकाशित : २०७८ जेष्ठ २०, बिहीबार ०८:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ