पर्यटन मन्त्री अरगरियाको चेतावनी- निगमले कमजोरी नसुधारे हस्तक्षेप गर्छु


काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले सुधारको ठोस कार्ययोजना ल्याउन नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका छन् । न्यूरोडस्थित निगम कार्यालयको सोमबार अनुगमन गर्दै उनले सरकारले आशा गरे जस्तै निगमलाई सुधार गर्न ठोस कार्ययोजना ल्याउन निर्देशन दिएका हुन् ।

मन्त्री अरगरियाले निगममा देखिएको कमजोरी सच्याउन एक साताको समय दिँदै त्यसपछि आफूले हस्तक्षेप गर्ने चेतावनी पनि दिएका छन् । निगमसँग आन्तरिक उडानका लागि प्रयाप्त जहाज हुँदा पनि उचित प्रयोग नभएको गुनासो आएको उनले बताए । उनले एक वर्षदेखि आन्तरिक उडान नहुनुको वस्तुनिष्ठ कारण खोजिने पनि बताएका छन् ।

कोरोना महामारीले हवाइसेवामा पारेको असरबाट जुध्‍न र यसबाट निगमलाई पार लगाउन सरकारको मुख मात्रै नताकी निगमलाई अघि बढाउने कार्ययोजना ल्याउन निर्देशन दिए । मन्त्री अरगरियाले त्यसैका आधारमा मन्त्रालयले आगामी रणनीति बनाउने जानकारी दिए । त्यस्तै उनले निगमको माथिल्लो तहमा रहेका कर्मचारीको क्षमता अनुसार उचित स्थानमा राखेर कार्यसम्पादन गरे मात्रै निगमको हित हुने भन्दै कर्मचारीको विज्ञता र क्षमता अनुसार कार्यसम्पादन गर्न गराउन निर्देशन दिए ।

उनले विगतका कमीकमजोरीबाट पाठ सिक्दै आगामी दिनमा बजार हिस्सामा स्वामित्व बढाउन आक्रमक ढंगले लाग्न पनि निर्देशन दिए । त्यस क्रममा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेलले निगमको आगामी कार्य योजनाबारे जानकारी गराए । निगमलाई अहिलेको अवस्थाबाट माथि उठाउने धेरै सम्भावना रहेको बताउँदै उनले त्यसमा सरकारको सहयोग चाहिने बताए ।

कोरोनाको दोश्रो लहरका कारण निगमले तय गरेको कार्ययोजनालाई कार्यान्वयन गर्न सफल नभएको जानकारी पनि उनले मन्त्री अरगरियालाई दिएका छन् । – फरकधार

प्रकाशित : २०७८ जेष्ठ ३१, सोमबार १८:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ