उपेन्द्र यादवको दावी- संसद पुनर्स्थापना हुन्छ, देउवा प्रधानमन्त्री बन्छन्


सप्तरी : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा पुनर्स्थापना हुने र शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन् । शनिबार सप्तरीमा पत्रकारसँग कुरा गर्दै उनले सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गराउन परमादेश जारी गर्ने विश्वास व्यक्त गरे । ‘संसदको पनि पुर्नस्थापना हुन्छ । लोकतन्त्रको पनि रक्षा हुन्छ । हामी यसमा ढुक्क छौं’ उनले भने ।

अध्यक्ष यादवले सरकारले कुनै माग पूरा नगर्दा पनि जसपाका कतिपय नेताहरु सरकारमा गएको टिप्पणी गरे । ‘कसैको मुद्दा फिर्ता भएको छैन, कुनै माग पूरा भएको छैन’ अध्यक्ष यादवले भने, ‘केपी ओलीले त मधेशको माग सुन्नै चाहेका छैनन् । माग कसरी पूरा गर्छन् ?’ मधेशको माग जनसंख्याको आधारमा समावेशी समानुपातिक प्रतिनिधित्व, भाषाको अधिकार, ७ प्रदेशको सट्टा गरी १० जोड १ प्रदेशको अवधारणा ल्याउने भएपनि कुनै माग पूरा नभएको बताए ।

नागरिकताको विषयमा प्रधानमन्त्री ओलीले ठूलो खेल खलेको यादवले आरोप लगाए । संसदमा टेबुल भइसकेको नागरिकता विधेयकलाई संसदभित्रै पारित नगराई अध्यादेश बाट ल्याइएको भन्दै उनले भने, ‘एकातिर अध्यादेश जारी गरे, अर्कोतर्फ आफ्नै मान्छे लगाएर खारेज गर्न लगाए ।’

जसपाभित्रको पूर्व राजपाका नेताहरु प्रतिगमनकारीलाई सघाएको अध्यक्ष यादवले बताए । ओलीको सरकारमा सहभागी भएकाहरु पार्टीमा पुनः आउन सक्ने उनले बताए । ‘राजनीतिमा केही पनि असम्भव छैन । उहाँहरु बाटो परिवर्तन गरेर अग्रमगमनको बाटोमा आई आत्मोलचना गरे पार्टीमा रहन सक्नुहुन्छ’ उनले भने ।

प्रकाशित : २०७८ असार १२, शनिबार १६:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ