सिरहामा कमला नदी क्षेत्रका बासिन्दालाई सतर्क गराइयो, तटबन्ध भत्किने खतरा


जनकपुरधाम : कमला नदीमा पानीको सतह बढेपछि जिल्ला प्रशासन कार्यालय सिरहाले सतर्कता अपनाउन आसपासका बासिन्दालाई अपिल गरेको छ । सिरहाका सिडिओ प्रदिपराज कणेलले कमला नदी क्षेत्रका बासिन्तालाई सतर्कता अपनाउन माइकिङ गराएका हुन् ।

सिडिओ कणेल भन्छन्, ‘कमला नदीमा सिन्धुलीतर्फ ३ मिटर बढेको मापन गरिएको छ । सिरहा–धनुषातीर बहाव क्षेत्र लामो भएकाले करिब डेढ मिटर बढेको छ ।’ तटबन्ध भत्काउने खतरा बढेकाले नदी क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन माइकिङ गर्न लगाएको उनको भनाई छ ।

कमला नदीमा हरेक वर्ष अत्यधिक बाढी आउँछ । हरेक २÷३ वर्षको अन्तरालमा बाढीले सिरहा र धनुषातर्फ टतबन्ध भत्काउने गरेको तथ्यांक छ । तटबन्ध भत्काउदा बाढीले ठूलो क्षति पुर्याउँछ । तर तटबन्ध मर्मत गराउन सरकारले आवश्यक बजेट उपलब्ध गराउने गरिएको छैन ।

‘तटबन्ध मर्मत गराउने निकायले बजेट नै छैन भन्छन्’, सिडिओ कणेलले भने, ‘स्थानीय तहले पनि तटबन्ध मर्मतका लागि बजेट छुट्याउने गरेका छैन । मर्मतको अभावमा तटबन्ध कमजोर भएर भत्किने खतरा बढेको छ ।’ बाढीले तटबन्ध भत्काए ठूलो क्षति पुर्याउने उनको अनुमान छ ।

कमला नदीको धनुषा र सिरहा दुबैतीरको तटबन्धमा भारतले लगानी गर्छ । स्रोतका अनुसार भारतको दबाबका कारण तटबन्ध मर्मत कार्य भइरहेको छैन । ‘बढी बाढी आउँदा भारतमा क्षति पुर्याउछ’, एक इन्जिनियरले भने, ‘तर यतैतीरको तटबन्ध भत्कियो भने भारतमा कम क्षति हुन्छ । त्यसैले भारत पक्षले तटबन्ध मजबुत गरी बनाउन दिने गरेको छैन ।’

प्रकाशित : २०७८ असार १७, बिहीबार ०९:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ