प्रदेश २ का यी यूवा : जो सर्प नचाएर चलाउँछन् रोजीरोटी


पर्सा : सर्प सुन्नेबित्तिकै धेरैको आङ सिरिङ्ग हुन्छ । अझ सर्प नजिक पर्दा त सातो नै जान्छ । तर, २७ वर्षीय नाजिर नटले सानैदेखि सर्पसँग लडीबुडी गरे । आफ्नो इसारामा सर्पलाई नचाए । उनका पुर्खाले पनि यही काम गरेका थिए ।

विषालु वा गैरविषालु जुनसुकै सर्प पक्रने र त्यही सर्पको खेल तमासा देखाएर कमाउने उनको काम हो । तराईको लोपोन्मुख नट सपेरा जातिको मुख्य पेसा नै यही हो । कसैको घर, व्यापारिक प्रतिष्ठान वा सार्वजनिक स्थलहरूमा विषालु सर्प देखिएपछि नाजिरलाई ती सर्प त्यहाँबाट हटाउन बोलावट आउँछ ।

नाजिर पनि तुरुन्तै पुगेर सर्प समाउँछन् । यसरी उनले सर्वसाधारणको ज्यान जोगाएर ठूलो गुन पनि लगाउँछन् । आफ्नो ज्यानको पर्वाह नगरी अरूको ज्यान बचाउने काम गर्दा उनले त्यति बेला राम्रै बक्सिस पाउँछन् । सर्प उनको साथी र सहयात्री मात्र होइन रोजीरोटीको माध्यम पनि हो ।

तर सधैं त्यस्तो अवसर जुर्दैन । बालबच्चाको मुखमा माड लाग्न उनले दैनिक सर्पको खेलतमासा देखाउन गाउँसहर डुल्नै पर्छ । १२र१३ कै उमेरदेखि सर्प पक्रन थालेका नाजिरलाई अहिलेसम्म झन्डै ३० पटक सर्पले टोकी सकेको छ । तर सर्प समाउने कला अनि विषालु सर्पले टोकी हाले पनि नआत्तिने र समयमै उपचार गराउनाले उनको ज्यान जोगिएको हो ।

अहिले उनी वीरगन्ज महानगरपालिका २७ प्रसौनीवीर्तास्थित एक बगैंचामा तम्बु गाडेर बसेका छन् । तम्बु अर्थात् कपडा वा त्रिपालको छानो र घेराबेरा भएको छाप्रो । उनी झन्डै एक दशकदेखि यसरी बगैंचामा परिवारका आधा दर्जन सदस्यसहित बस्दै आएका छन् । ‘हामी पेसाले सपेरा हौं, हाम्रा पुर्खाहरूले पनि यसरी नै सुकुम्बासी जीवन तम्बुमै बिताए,’ नाजिर भन्छन्, ‘मैले पनि त्यही गरे, मेरो आफ्नो नम्बरी घर घडेरी केही छैन ।’ नट सपेराहरू तराईको अति विपन्न र सीमान्तकृत जाति भएकाले उनीहरूको अचल सम्पत्ति तथा घरघडेरी छैन ।

परिवारमा पत्नी खुश्बु खातुनसहित ४ छोराछोरी छन् । परिवारको सदस्यबाहेक २ वटा सर्प पनि छन् । ‘महिले मसंग २ मुखे र गोमन गरी २ वटा सर्प छन्, यी पनि मेरो परिवारका सदस्य सरह नै हुन्,’ उनले भने, ‘यी सर्पको पनि मैले दैनिक स्याहार गर्नुपर्छ, यिनलाई परिवारकै सदस्यसरह दैनिक आहाराका रूपमा भ्यागुता, मुसा आदि फत्रेर दिनुपर्छ ।’

सपेराले कहिल्यै सर्प मार्दैनन् । सकेसम्म यो सरिसृपलाई जोगाउँछन् । सर्प नै उनीहरूको वर्तमान र भविष्य पनि भएकाले सर्प बाँचे हामी पनि बाँच्छौं भन्ने मान्यता राख्छन् ।

विषालु सर्प पक्रेर ल्याएपछि उनले त्यस्ता सर्पलाई केही दिन पाल्छन् । अनि सर्पको दाँत र विष फालेर विष बमन गर्न नसक्ने बनाउँछन् । यो कला सपेराहरूले मात्र जानेका हुन्छन् । अहिले उनीसँग भएको विषालु गोमन सर्प एक साताअघि मात्रै गाउँमै पक्रेका हुन् । गोमनको दाँत उनले झिक्न पाएका छैनन् । त्यसैले अत्यन्त सावधानीले यो सर्पलाई स्याहार र तालिम दिइरहेका छन् । ‘प्रकृतिमा निस्फिक्री डुलेको सर्पलाई मानिसको संगत गर्ने बानी बसाल्न मैले निक्कै मिहिनेत गर्नुपर्छ,’ उनले भने, ‘तीन चार वर्षपछि फेरि सर्पदंश गर्न सक्ने विषालु हुने भएकाले सर्पलाई प्रकृतिमै छोडी दिने गर्छु ।’

युवावस्थामै घर व्यवहारको बोझले थिचिएका नाजिरको ठूलो सपना छैन । आफ्नो नम्बरी जग्गामा टाउको लुकाउन मिल्ने एउटा फुसको छाप्रो भइदिए उनलाई पुग्ने रहेछ । ‘दुई चार धुर नम्बरी जग्गा होस्, अनि त्यसमा एउटा फुसको छाप्रो होस्,’ उनले भने, ‘योभन्दा ठूलो मेरो सपना पनि छैन, त्यति भइदिए मैले लालाबालासहित तम्बु गाड्न सधैं अरूको खाली जग्गा खोजेर डुली राख्नुपर्थेन होला ।’

पूर्वी र मध्य तराईका जिल्लाहरूमा नट सपेरा जाति फाट्टफुट्ट रहेका छन् । मुलुकमै मुस्लिम समुदायका नट सपेरा जातिको जनसंख्या करिब ६ सय मात्र रहेको छ । यीमध्ये अधिकांश नागरिकताविहीन र भूमिहीन छन् । – कान्तिपुरबाट

प्रकाशित : २०७८ असार १७, बिहीबार १०:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ