बुधबारेदेखि फेरि भारी वर्षा हुने, आज यी स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौं : अलि मत्थर भएको मनसुन आउँदो बुधबारदेखि फेरि सक्रिय हुने मौसमविदले बताएका छन् । तर, आज र भोलि भने ठूलो पानी नपर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

अहिले मनसुनी न्यून चापीय रेखा दक्षिणी भू–भाग नजिक छ । यो बेला मनसुनी गतिविधि कम हुन्छ । मनसुनी न्यूनचापीय रेखा तराई नजिक हुँदा मनसुन सक्रिय हुने महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताइन् । अहिले प्रदेश एकका केही ठाउँमा मध्यम खालको पानी परिरहेको छ ।

प्रदेश दुई, वागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा पनि हल्का पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश–१, २, वागमती, गण्डकी र लुम्बिनीमा मौसम पूर्ण बदली हुने अनुमान छ ।

त्यस्तै कर्णाली र सुदूरपश्चिममा सामान्य बदली रहने महाशाखाले जनाएको छ । आज राति प्रदेश–१ सहित वागमती र गण्डकीका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना छ । ठूलो पानी पर्ने क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित : २०७८ असार २१, सोमबार ०८:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ