पर्साकी पूर्वसांसद विरूद्ध अदालतमा मुद्दा, १२ लाख ठगेको आरोप


काठमाडौं : महिनौंसम्म चेक अनादरको जाहेरी लिएर जाँदा पनि जिल्ला प्रहरी कार्यालय पर्साले दर्ता गर्न अस्वीकार गरेको छ ।पर्सा प्रहरीले जाहेरी लिन अस्वीकार गरेपछि बारा जितपुर सिमरा उप-महानगरपालिका २३ का ३७ वर्षीय महमद आरिफ देवानले विघटित प्रतिनिधिसभाका समानुपातिक सांसद चाँद तारा कुमारीविरूद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।

सांसद चाँद कुमारी ताराले आफ्नो छोरालाई क्यानडा पढाउन पठाउनको लागि रकमको आवश्यकता परेको भन्दै देवानको १२ लाख रूपैयाँ लिएको आरोप छ । एक महिनाभित्र रकम फर्काउने भने पनि पछि आफ्नो खातामा पैंसा नभएको थाहा पाएर पनि चेक काटेर दिएकी थिइन् । त्यसरी बैंकिङ कसुर गरेको भन्दै देवान गत माघ मै जाहेरी लिएर कार्यालयमा पुगेका थिए । तर प्रहरीले सांसदविरूद्ध जाहेरी लिन नमानेको र आलटाल मात्रै गरेको देवानले बताए ।

‘५ महिना अघि नै प्रहरी कार्यालयमा गएको थिएँ । तर उहाँहरूले विभिन्न बहाना दिएर दर्ता गर्न मान्नु भएन । २० दिन पछि आउनुस्, १० दिन पछि आउनुस् भनेर भन्नुभयो,’ देवानले भने, ‘शुक्रबार पनि गएर मैले एसपी साबसँग भेटेँ । उहाँले तोक लगाइदिनुभयो। तर पछि मुद्दा फाँटमा लिएर जाँदा म्याद गुज्रियो भनेर जाहेरी फाड्नुभयो ।’

बैंकिङ कसुरको मुद्दामा कसुर भएको थाहा पाएको मितिले एक वर्षभित्रमा जाहेरी दिन सक्नेछ । तर प्रहरीले सुरूमा आलटाल गरी मुद्दा दायर नगरेको र पछि हदम्याद नै गुज्राएको देवानले बताए । पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाले भने निषेधाज्ञाको कारण दर्ता गराउन नसकेको जिकिर गरे ।

‘पाँच/छ महिना अगाडि नै आउनुभएको थियो । दुबैतर्फको जाहेरी आएको छ । उताबाट पनि चेक चोरी भएको भन्ने थियो । पिए र सांसद हुन्,’ उनले भने, ‘हामीले के रहेछ भने बोलाएका थियौं । तर उपस्थित नभएपछि बैंकिङ कसुरमा सिधै अदालत जान मिल्ने भएकोले त्यहाँ जान सुझाव दियौं । एउटै विषयमा दुई वटा दाबी आएपछि भेरिफाइ गर्नुपर्ने हुन्छ । तै पनि बैंकिङ कसूरको मुद्दा अदालतमै दर्ता गर्ने भन्ने हिसाबमा आयो बीचमा लकडाउनहरू भएको हुनाले अदालत पनि बन्द थियो। त्यही कारणले भएन ।’

सोही मुद्दा आइतबार पर्सा जिल्ला अदालतमा दर्ता भएको छ ।देवान र सांसद ताराबीच पहिले देखिनै चिनजान थियो । देवान १२ महिनाको लागि सांसदकी पिएसमेत भएका थिए । – सेतोपाटी

प्रकाशित : २०७८ असार २१, सोमबार १२:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ