महोत्तरीमा रहेको नेपालकै पहिलो राजकीय संस्कृत विद्यालयको भवन भत्कियो


महोत्तरी : मटिहानी नगरपालिका ७ स्थित नेपालकै पहिलो संस्कृत विद्यालय राजकीय संस्कृत माविको जिर्ण भवन सोमबार भत्किएको छ । वि.सं. १७७५ मा स्थापना भएको विद्यालयको एक सय वर्ष पुरानो ८ कोठे पक्की भवन भत्किएको विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेलले जानकारी दिए ।

वर्षौदेखि जिर्ण भवनलाई प्रत्येक वर्ष विद्यालयले मर्मत गर्दै आवास र रुद्राभिषेक गर्ने भवनको रुपमा प्रयोग गर्दै आएको थियो । उक्त भवनमा बस्ने विद्यार्थी (बटुकहरु) सोमबार दिउँसो स्कुलको कक्षा कोठामा रहेका बेला भवन भत्किएकोले मानवीय क्षति भने नभएको विद्यालयले जनाएको छ ।

अहिले राजकीय संस्कृत माविमा जिल्ला बाहिरबाट आएका ६० जना बटुकसहित १ सय ५५ विद्यार्थी अध्ययनरत छन् । भवन अभावका कारण नेपालका २७ जिल्लाबाट आएका ६० बटुकहरु सोही भत्किएको जिर्ण भवनमै बस्न बाध्य थिए ।

बटुकहरु बस्ने र पूजापाठ गर्ने भवन भत्किएपछि विद्यालयलाई अब पुनस् भवन अभाव हुने प्रअ पौडेलले बताए । राज्यले संरक्षण गर्नुपर्ने इतिहास बोकेको विद्यालय भएपनि राज्यको प्राथामिकतामा उक्त विद्यालय पर्न सकेको छैन ।

विद्यालय चलाउन, बटुकहरुलाई खुवाउन र अन्य दैनिक खर्चका लागि व्यक्ति र निकायसँग हात थाप्न जानुपर्ने बाध्यता विद्यालयको रहेको पौडेल बताउँछन् । ओझेलमा परेको विद्यालय भनेर चिनिन थालेको विद्यालयलाई अहिले पुनस् राम्रो बनाउँदै लगिएको र उक्त विद्यालयलाई सहयोग गर्ने व्यक्ति र निकायको खोजी गर्दै विद्यालयलाई धानिरहेको पौडेलले बताए ।

वर्षौंदेखि मर्मत गर्दै प्रयोग गरिरहेको भवनबाट पानी चुहिने भए पनि बटुकहरु सोही भवनमा गुजारा चलाउन बाध्य थिए । वर्षाको समय पानीले गलेकै कारण भवन भत्किएको विद्यालयले जनाएको छ । अब उक्त भत्किएको भौतिक संरचना बनाउन पनि विद्यालयले दाताकै बाटो हेर्नुपर्ने बाध्यता रहेकाले सबै पक्षसँग पुनस् सहयोगकै अपेक्षा रहेको पौडेलले बताए । – कान्तिपुर

प्रकाशित : २०७८ असार २९, मंगलवार ११:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ