प्रदेश २ : पूजा गरिरहेकै बेला शिवलिंग जमिनमुनि भासिए, स्थानीय चकित


रौतहट : एक मन्दिरमा पत्याउनै नसकिने किसिमको घटना घटेको छ । गढीमाई नगरपालिका २ समनपुरस्थित रहेको सयौं वर्ष पुरानो प्राचीन शिव मन्दिरको शिवलिंग जमिनमा भासिएको हो ।

आइतबार दिउँसो ३ बजेको समयमा पूजा गर्दागर्दै अवस्थामा शिवलिङ्ग सतहभन्दा करिब डेढ फिट तल जमिनमा भासिएपछि स्थानीयवासीमा त्रास फैलिएको छ । गढीमाई नगरपालिका १ समनपुरका ३६ वर्षीय पप्पु भन्ने अनिशकुमार मेहताले आइतबार दिउँसो साढे ३ बजेतिर पूजा गरिरहेको अवस्थामा नै शिवलिंग भासिएको हो । भाकलअनुसार पूजा सकिएपछि शिवलिंगमा घीउ दल्न थाल्दा शिवलिंग एक्कासी भासियो ।

विचित्रको कुरा त यो छ कि शिवलिंग भासिनै वित्तिकै केहीबेर भगवान शिवको दृश्य पनि देखिएको स्थानीयको दावी छ । मन्दिरको भित्ताको वालमा भगवान शिवको दुईवटै आँखा सहितको आकृति पनि देखिएको छ । शिवलिंग भासिएको खबर सुनेर मन्दिरको नजिकै घर रहेको एक महिलाले मोबाइलमा फोटो खिच्दा शिवको दृश्य देखिएपछि पुरै गाउँबासी नै आश्चर्यमा परेका छन ।

महिलाको मोवाइलमा शिवको दृश्य कैदभएपछि लगत्तै अन्य मानिसले फोटो खिच्दा आँखाको त्यो आकृति नदेखिएको स्थानीयको भनाइ छ । केहीबेरसम्म मात्र उक्त दृश्य देखिएको थियो । त्यसपछि अहिलेसम्म पनि त्यस्तो दृश्य नदेखिएको स्थानीय जुगल दासले बताए ।

सयौं वर्षदेखी स्थापित मन्दिरमा कहिलै पनि शिवको दृश्य नदेखिएको र शिवलिंग भासिएपछि मात्र दृश्य देखिएकोले यसमा केहि न केही रहस्य पक्कै रहेको स्थानीयहरुको आशंका छ । महिलाले खिचेको उक्त फोटो समाजिक सञ्जालमा अहिले चारैतिर भाइरल भइरहेको छ । शिवलिंग भासिएको र शिवको दृश्य पनि देखिएकोले स्थानीयहरुमा त्रासको वातावरण सृजना भएको छ ।

यसैविच भासिएको शिवलिंगलाई हेर्न आउनेहरुको समेत घुइचो लाग्न थालेको छ । समनपुरको महादेव मन्दिरलाई अतिप्राचीन मानिन्छ । किंवदन्तीअनुसार बाह्र वर्षको वनवास सकिएपछि एक वर्षको अज्ञातवास यहीबाट सुरु गरेका थिए । अज्ञातवास प्रारम्भ गर्न पाण्डवहरुले बनाएको सुरुङमा पसेको र सुरुङलाई बन्द गर्न त्यसको मुखमा ढुंगा राखेका थिए ।

त्यही ढुंगालाई कालान्तरमा स्थानीयले महादेव भनि पूजा गर्न थालेका थिए। केही दशक पहिलेसम्म हरेक वर्ष दर्जनौँको संख्यामा थारु, कछडियालगायतका जातिहरुको बिहे हुने गरेको मन्दिरमा जति धेरै जल चढाए पनि कहाँ जान्छ भनि अत्तोपत्तो नहुने गरेको स्थानीयको भनाइ छ । सुरुङको मुखमाथि शिवलिंग रहेकोले पानी सिधै जमिनमुनि जाने गरेको विश्वास अहिले पनि स्थानीयमा रहेको छ । शिवलिंगमा जतिसुकै जल चढाउँदा तथा धुँदा र स्नान गराउँदा पनि पानी जमिनमुनि नै जाने गरेको छ ।

अतिप्राचीन मन्दिर भएकोले घटनाको विषयमा पुरातत्व विभागलाई पनि जानकारी गराउन खोजिरहेको गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम यादवले बताए । करिब एक महिना पहिले सपनामा शिवजीले यहाँ नबस्ने भनि बताएको मन्दिरका पुजारी शंकर गिरीले बताएका छन् ।

सपनामा भगवान शिवले आफूलाई ‘अब हम जारहल छी, इहाँ नरहम’ भनेर बताएको भन्दै पुजारी गिरीले सपनामा आफूले शिवजीलाई ‘पुरान गाँओ समाज छोडके नजाएलजाओ’ भनेर अनुरोध गरेको पनि बताएका छन् । मन्दिरका पुजारी गिरिलाई भगवान शिवले अब म यहाँ बस्दिन भनेपछि शिवले रिसाएको भन्दै शिवलाई मनाउन स्थानीयहरुले पुजापाठ गर्न समेत थालेका छन ।

प्रकाशित : २०७८ असार ३०, बुधबार ०९:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ