भंगहामा प्रहरी र मेयरको मिलोमतोमा अवैध ग्राभेल उत्खनन्, बस्ती जोखिममा


सन्तोष यादव, जनकपुरधाम : महोत्तरीको भंगहा नगरपालिका ४ बिर्ता नजिकै ऐलानी जग्गामा अवैधरुपमा ग्राभेल उत्खनन् भइरहेको पाइएको छ । नगरपालिकासँग अनुमति नै नलिइ भइरहेको ग्राभेल उत्खनन्का कारण बस्ती नै जोखिममा परेको छ, जसकारण स्थानीय आक्रोशित भएका छन् ।

स्थानीय ठेकेदारको जेसिबी एवम् स्काभेटर प्रयोग गरी ग्राभेल उत्खनन गरिरहेका छन् । स्थानीयले ईलाका प्रहरी कार्यालय भंगहाको संरक्षणमा उनीहरुले कुनै मापदण्ड पालना नगरी अवैध रुपमा ग्राभेल उत्खनन् गरेको आरोप लगाएका छन् ।

करिब २० फिटसम्म उत्खनन् गर्दा जमिनमा विशाल पोखरी जस्तो बनेको छ । अवैध उत्खननबारे स्थानीयले प्रहरीलाई पटक-पटक खबर गरेका छन् । तर प्रहरीले खासै चासो नदेखाएको उनीहरुले बताएका छन् । स्थानीय एक युवाले भने- प्रहरीलाई खबर गर्नेलाई नै ठेकेदारले धम्की दिन्छन् । फोन गरेर प्रहरी आए पनि कसैलाई केही कारबाही हुँदैन ।

स्थानीयको फोनपछि बुधबार उत्खननस्थलमा आएर प्रहरीले ना १ क ५८५२ नम्बरको जेसिबी नियन्त्रणमा लियो । तर एकछिनमै छाडिदिएको ती युवाले बताए ।

ईलाका प्रहरी कार्यालय भंगहाका ईन्चार्ज भरत सिलवालले ग्राभेल उत्खनन नभएको बताए । उनले भने, ‘उत्खनन भइरहेको भनेर स्थानीयले हामीलाई फोन गर्छन् । तर त्यहाँ पुग्दा कोही हुँदैन । कसलाई समात्नू रु’

यता, भंगहा नगरपालिकाका मेयर संजिव साह भने उत्खनन भइरहेको विषयमा अनभिज्ञ छन् । उनी भन्छन्, ‘उत्खनन भइरहेको कुरा मलाई थाहा भएन । यदि भइरहेको छ भने एसपी साहेबसँग कुरा गर्छु ।’ – नेपाल प्रेस

प्रकाशित : २०७८ असार ३१, बिहीबार १३:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ