मोदीले प्रधानमन्त्री देउवालाई किन दिएनन् बधाई ?


काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको आज तीन दिन भैसकेको छ । तर, मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अहिलेसम्म नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिएका छैनन् ।

दिल्लीनिकट उच्च स्रोतकाअनुसार मोदीले देउवालाई बधाई नदिनुको प्रमुख कारण चाहीँ देउवाले विश्वासको मत लिन बाँकी रहनु भएको हो । अहिलेसम्म भारतबाट प्रधानमन्त्री देउवालाई आएको उच्चस्तरको बधाई भने रक्षामन्त्री राजनाथ सिंहबाट हो । त्यसपछि भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालाले पनि फोन गरेर देउवालाई बधाई दिईसकेका छन् ।

हिजोमात्रै नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भेटेरै प्रधानमन्त्री देउवालाई बधाई दिएका हुन् । प्रधानमन्त्री देउवासँगको भेटमा राजदूत क्वात्राले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध र आपसी हितलाई उचाईमा पुर्याउँदै विकासका परियोजनालाई निरन्तरता दिने विश्वास दिलाएका थिए । राजदूत क्वात्राले भारतीय प्रधानमन्त्री र राष्ट्रपतिको तर्फबाट पनि शुभकामना सुनाएका थिए ।

आजै भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री देउवालाई फोनमार्फत बधाई दिने बुझिएको छ । नेपालस्थित् दूतावासले प्रधानमन्त्री मोदीको तर्फबाट पनि बधाई दिनको लागि आवश्यक तयारी गरिसकेको छ ।

तर, मोदीले भने देउवाले विश्वासको मत प्राप्त नगरेकोले अहिले नै बधाई तथा शुभकामना नदिएको स्रोतको दाबी छ । मोदी देउवाले विश्वासको मत प्राप्त गर्नेबित्तिकै शुभकामना र बधाई दिने भनेर बसेका छन् । – रिपोर्टर्स नेपाल

प्रकाशित : २०७८ असार ३१, बिहीबार १४:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ