जसपा नेतालाई ओलीले भने- बल्ल आराम गर्ने अवसर पाएँ, सहकार्य जारी राख्नुपर्छ


काठमाडौं : निवर्तनमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट बाहिरिएपछि आराम गर्ने अवसर पाएको बताएका छन् । शनिबार जसपा अध्यक्ष महन्थ ठाकुर पक्षसँग आफ्नै निवास बालकोटमा भेट गर्दै ओलीले सो कुरा बताएको जसपा नेता शरदसिंह भण्डारीले बताए ।

ओली सरकारबाट बाहिरिएपछि जसपा महन्थ समूहका नेताहरूले पहिलोपटक भेट गरेका हुन् । भेटमा राजनीतिक वार्ता नभएको र केही दिनमै छुट्टै राजनीतिक विषयमा छलफलका लागि भेटवार्ता गर्दै सहकार्य जारी राख्ने विषयमा कुराकानी भएको नेता भण्डारीको भनाइ छ ।

उनले भने, ‘आज कुनै राजनीतिक विषयमा छलफल भएन, उहाँ (ओली)ले सहकार्य जारी राख्नुपर्छ र केही दिनमै राजनीतिक भेटवार्ता बस्नुपर्छ भन्नुभएको छ ।’ ओलीले सहकार्य जारी राख्न भनेपछि महन्थ पक्षका नेताहरु ‘हामी तयार छौं’ भन्ने जवाफ दिएका थिए ।

ओलीलाई भेट्न जसपा नेता महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा आज बालकोट पुगेका थिए । भोलिदेखि प्रतिनिधिसभाको अधिवेशन बोलाइएका कारण संसद अधिवेशन चलेका बेला कसरी अगाडि बढ्ने लगायतका विषयमा पनि जसपा र ओलीबीच छलफल भएको छ ।

प्रकाशित : २०७८ श्रावण २, शनिबार १३:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ