कांग्रेस मुख्यालयमा पूर्वराष्ट्रपति डा. यादवका छोरा पनि अनसनमा किन बसे ?


काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीका नेताहरुले सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्न आग्रह गर्दा उनले जवाफ दिएका थिए, ‘पार्टी कार्यालयमा धर्ना भएकाले बालुवाटारमा राख्न परेको हो । अब त्यस्तो हुँदैन ।’

सोमबार उपसभापति विमलेन्द्र निधिले बालुवाटारमै समायोजन समितिको बैठक राख्न चाहेका थिए । पार्टी कार्यालयमा निधिकै गृहजिल्ला धनुषाका नेता कार्यकर्ताहरु आमरण अनशनमा रहेकाले उनले पार्टी कार्यालयको सट्टा बालुवाटारमा बैठक राख्न चाहेका थिए । तर बालुवाटारमा पार्टी बैठक नराख्ने नीति अनुसार वैकल्पिक ठाउँ खोज्न निधिलाई सुझाइएको संस्थापन पक्षका एक नेताले बताए ।

कांग्रेसको १४औं महाधिवेशन नजिकिएसँगै क्रियाशील सदस्यताको विषय पनि पेचिलो बनेको छ । यही विषयलाई लिएर पार्टी मुख्यालय सानेपाको मूलगेटमा धनुषाका तीन नेता आमरण अनशनमा छन् । बाराका नेता कार्यकर्ता नौ दिनदेखि धर्नामा छन् ।

आइतबारदेखि सर्लाहीका पूर्वसांसद सहितका नेता कार्यकर्ताले धर्ना दिएका छन् । क्रियाशील सदस्यता छानबिन समितिले काम अन्तिम चरणमा पुर्‍याएका बेला असन्तुष्टिलाई लिएर धर्ना र अनशन बस्नेको संख्या बढ्दै गएको छ । उनीहरु सबैको माग साझा छ, ‘फर्जी क्रियाशील सदस्यता बदर होस् ।’

धनुषाका कांग्रेस नेता एवं पूर्वसांसद डा. चन्द्रमोहन यादव दुई दिनदेखि आमरण अनशनमा छन् । उनी पूर्वराष्ट्रपति डा। रामवरण यादवका छोरा हुन् । उनीसहित महासमिति सदस्य रामपल्टन साह र तरुण दल जिल्ला कार्यसमिति सदस्य दिनेश नायक पनि आमरण अनशनमा छन् । धनुषामा मापदण्ड विपरीत क्रियाशील सदस्यता वितरण गरिएको भन्दै त्यसलाई मान्यता नदिन माग गर्दै उनीहरु अनशन बसेका हुन् ।

क्रियाशील सदस्यता छानबिन समितिले काम अन्तिम चरणमा पुर्‍याएका बेला असन्तुष्टिलाई लिएर धर्ना र अनशन बस्नेको संख्या बढ्दै गएको छ । उनीहरु सबैको माग साझा छ, ‘फर्जी क्रियाशील सदस्यता बदर होस् ।’ यादवले भने, ‘नयाँ क्रियाशील सदस्यतामा पार्टीको विधान, नियमावली एवं केन्द्रीय परिपत्र विपरीत प्रक्रिया मिचेर सदस्यता वितरणमा व्यापक धाँधली भएको छ । यो बदर नभएसम्म हामी अनशन रोक्दैनौं ।’

उनले पार्टीको तहगत निर्णय नगरी एक पक्षीय रुपमा नयाँ क्रियाशील वितरण गरिएको आरोप लगाए । ‘जिल्ला पार्टी कार्यालय धनुषामा निरन्तर धर्ना बस्दा पनि सुनुवाइ नभएपछि केन्द्रीय कार्यालयमै अनशन बस्न बाध्य भएका हौं,’ उनले थपे । – अनलाइन खबरबाट

प्रकाशित : २०७८ श्रावण ४, सोमबार २०:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ