बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटे महन्थ, सरकारमा जाने सम्भावना


काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जसपा अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन् । बुधबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न ठाकुर बालुवाटार पुगेका थिए ।

भेटघाटमा यसअघि गरिएका सम्झौता पालना गर्नु पर्ने विषयमा छलफल भएको बुझिएको छ । जसपाको ठाकुर पक्षले अचानक प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको थियो ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएपछि जसपाको महन्थ ठाकुर पक्ष पनि सरकारमा सहभागी हुनसक्ने सम्भावना बढेको छ । आज प्रधानमन्त्रीसँगको भेटमा यी दुईबीच यस विषयमा पनि छलफल भएको स्रोतको दाबी छ । प्रधानमन्त्री देउवाले यही साताभित्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका छन् ।

ठाकुर पक्षलाई पनि मन्त्री दिने विषयमा देउवा ठाकुरबीच कुराकानी भएको बुझिएको छ । सत्ता गठबन्धनमा देउवालाई मन्त्री बनाउन सकस परेको छ । कांग्रेसमा सरकारमा सहभागी हुने आकांक्षी धेरै हुँदा देउवाले हाल मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् ।

यस्तै जसपाको अर्को खेमा उपेन्द्र यादव समूहले सात मन्त्रीसहित एक राज्यमन्त्रीमा दाबी गर्दै आएको छ । नेकपा एमालेको माधव नेपाल समूहलाई पनि मन्त्रालयको भागवण्डा छुट्याउनु पर्ने छ । यस्तै माओवादी केन्द्रलाई पनि अर्को भागवण्डा छुट्याउनु पर्ने सकस देउवालाई छ ।

असार २८ गते सर्वोच्च अदालतको परमादेशबाट २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले माओवादी केन्द्रबाट दुई र कांग्रेसबाट दुई मन्त्रीसहित २९ गते नै शपथ लिएका थिए । तर उनले हालसम्म अरु मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् ।

प्रकाशित : २०७८ श्रावण ६, बुधबार १०:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ